काठमाडौं : युक्रेनमा भइरहेको व्यापक भ्रष्टाचारविरोधी अभियानको क्रममा छापा मारिएपछि शान्ति वार्ता टोलीका प्रमुख तथा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अत्यन्त निकट सहयोगी एन्ड्री येर्माकले पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति जेलेन्स्कीले शुक्रबार येर्माकको राजीनामा स्वीकार गर्दै उनको उत्तराधिकारी शनिबार नियुक्त गरिने जानकारी दिएका हुन्।
उच्चस्तरीय भ्रष्टाचार अनुसन्धानका कारण युक्रेनी राजनीति हाल व्यापक हलचलमा छ। येर्माकको राजीनामा सार्वजनिक हुनुअघि केही समयमै भ्रष्टाचारविरोधी अधिकारीहरूले उनको निवासमा छापा हालेका थिए। यद्यपि, उनीविरुद्ध कुनै मुद्दा दर्ता गरिएको छैन। विपक्षी सांसददेखि जेलेन्स्कीकै पार्टीका केही सदस्यसम्मले लामै समयदेखि उनलाई पदबाट हटाउन दबाब दिइरहेका थिए।
राष्ट्रपति जेलेन्स्कीले सम्बोधनमा रुस युक्रेनले गल्ती गरोस् भन्ने चाहन्छ तर सरकारद्वारा कुनै कमजोरी नदोहोरिने बताएका छन्।
५४ वर्षीय येर्माक जेलेन्स्कीको राजनीतिक उदयदेखि नै नजिकका सहयोगी हुन्। जब जेलेन्स्की टेलिभिजनका हास्य कलाकार थिए, उनीहरूबीचको घनिष्ठता त्यही समयदेखि सुरु भएको मानिन्छ। सन् २०१९ को राष्ट्रपति चुनावमा ‘राजनीतिक बाहिरका’ उमेदवारको रूपमा जेलेन्स्कीको सफलतामा पनि येर्माकले महत्वपूर्ण भूमिका खेलेका थिए।
छापापछि येर्माकले अनुसन्धान एजेन्सीहरूसँग आफू पूर्ण रूपमा सहयोग गरिरहेको बताएका छन्। युक्रेनको राष्ट्रिय भ्रष्टाचार–निरोधक ब्यूरो (NABU) र विशेष भ्रष्टाचार अभियोजक कार्यालय (SAPO) द्वारा गरिएको छापा करिब १०० मिलियन डलरको सम्भावित घुसखोरीसम्बन्धी ठूला मुद्दाको अनुसन्धानसँग जोडिएको बताइएको छ। यो मुद्दा युक्रेनको सरकारी परमाणु ऊर्जा कम्पनीसँग सम्बन्धित छ, जसमा पूर्ववरिष्ठ अधिकारी र जेलेन्स्कीका एक पूर्व कारोबारी साझेदारसमेत संलग्न रहेको उल्लेख छ।
विपक्षी युरोपियन सोलिडेरिटी पार्टीले विज्ञप्ति जारी गर्दै येर्माकलाई शान्ति वार्ता टोलीबाट हटाउन र नयाँ गठबन्धन सरकार गठन गर्न माग गरेको थियो।
राजीनामाको समय संवेदनशील मानिएको छ। रुस पछिल्ला हप्ताहरूमा धेरै मोर्चामा सैन्य गतिविधि तीव्र गइरहेको छ। मस्कोले पूर्वी सहर पोक्रोभ्स्क नजिक आफ्नो सेना पुगिसकेको दाबी गरेको छ, जुन लगभग दुई वर्षयताको सबैभन्दा ठूलो सम्भावित सैन्य उपलब्धि हुन सक्छ।
यसैबीच, राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाद्वारा प्रस्तुत २८ सूत्रीय शान्ति योजनालाई भविष्यको सम्झौताका लागि आधार बनाउन सकिने बताए पनि, त्यसका लागि युक्रेनले कब्जा गरिएका केही क्षेत्र छाड्नुपर्ने शर्त राखिएको छ। तर, हालैको अन्तर्वार्तामा येर्माकले युक्रेन कुनै पनि हालतमा आफ्नो भूमि नछोड्ने स्पष्ट अडान व्यक्त गरेका थिए।
युक्रेनका लागि भ्रष्टाचार नियन्त्रण गर्नु युरोपेली संघ (EU) सदस्यता प्राप्तिको प्रमुख पूर्वशर्त हो। ईयू अधिकारीहरूले स्थिति नजिकबाट निगरानी गरिरहेको बताएका छन्। अब येर्माकको राजीनामापछि सरकारमाथि अनुसन्धानलाई पारदर्शी रूपले अघि बढाउने र राजनीतिक स्थिरता कायम राख्ने थप दबाब परेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij