काठमाडौं : ओपनर जोन सिम्पसनको अर्धशतकप्रेरित खेलमा काठमाण्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा चितवन राइनोजविरुद्ध १४३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको काठमाण्डूले निर्धारित १९.४ ओभरमा सबै विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो।
सिम्पसनले २९ बलमा तीन चौका र पाँच छक्कासहित आक्रामक ६० रनको इनिङ खेले। उनले २४–३ को कठिन स्थितिबाट मिलिन्द कुमारसँग चौथो विकेटका लागि ९८ रनको साझेदारी गर्दै काठमाण्डूको इनिङ सम्हाले। तर १५.६ ओभरमा मिलिन्द कुमार र अर्को ओभरमा सिम्पसन पभेलियन फर्किएपछि टोली बलियो योगफल बनाउन सकेन।
मिलिन्दले ३८ रन जोडे भने ओपनर बेन चाल्सवर्थले १३ रन योगदान दिए। अन्य ब्याटरले दोहोरो अंकसम्म पनि पहुँच बनाएनन्। काठमाण्डूका सन्तोष यादव र गेरहार्ड इरास्मस डक आउट भए भने ओपनर आकाश त्रिपाठी र राशिद खान क्रमशः ४ र ६ रनमा पभेलियन फर्किए।
चितवनका सोहेल तान्विरले चार विकेट लिए भने रञ्जित कुमार र कमलसिंह ऐरीले समान दुई–दुई विकेट लिए। रवि बोपाराको नाममा एक विकेट रह्यो। तान्विरले चार ओभरमा २५ रन खर्च गर्दै काठमाण्डूलाई मध्यम योगफलमा रोक्न सफल भए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij