काठमाडौं : जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प नरहेको बताएका छन्।साैराहसँग कुरा गर्दै उनले भने, “जेनजी विद्रोहले हामीजस्ता राजनीतिज्ञको आत्मबलमा ठेस पुगे पनि प्रतिनिधिसभा निर्वाचन अपरिहार्य छ।”
त्रिपाठीले थपे, “देशको वर्तमान अवस्था विषम र असहज छ। संविधान घाइते छ। यस्तो परिस्थितिमा विचार र उद्देश्य मिल्ने दलबीच एकताको प्रक्रियालाई अघि बढाउन हामी संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध दल तथा अन्य विचार मिल्ने दलसँग अर्थपूर्ण वार्ता गर्न तयार छौँ।”
पार्टीका वरिष्ठ उपाध्यक्ष डा. शिवजी यादवको संयोजकत्वमा शाबिर हुसैन र नरोत्तम प्रधान सदस्य रहने गरी वार्ता समिति गठन गरिएको छ।
फागुन २१ का लागि तोकिएको निर्वाचन लक्षित संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध दलहरूले आपसी समझदारी प्रयास गरिरहेका छन्। मोर्चाका दल राष्ट्रिय जनमुक्ति पार्टीले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीसँग एकल चुनाव चिह्नमा सहमति जनाइसकेको छ।
तीनै पार्टीले आसन्न निर्वाचनमा जाँतो चुनाव चिह्नमा उम्मेदवारी दर्ता गरिसकेका छन्। मोर्चामा रहेका अन्य दलसँग पनि एकता सम्बन्धी छलफल भइरहेको राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव झाले जानकारी दिए। उनले भने, “हामी एकताका लागि छलफलमा छौँ। नभए पनि चुनावमा गठबन्धन गरेर जाने सबैलाई छुट छ।”
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij