काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेता जनकपुर बोल्ट्सको प्रदर्शन झन् निराशाजनक बन्दै गएको छ । बिहीबार कीर्तिपुरमा भएको खेलमा पोखरा एभेन्जर्सले जनकपुरलाई २५ रनले पराजित गर्दै तेस्रो लगातार हार सुम्पिएको हो ।
खेलपछि कप्तान अनिल साहले स्पष्ट रूपमा भने, “ब्याटिङ चलिरहेको छैन।”
उनका अनुसार पहिलो इनिङसम्म टिमको माहोल ‘ठीक’ भए पनि शीर्षक्रमबाट आवश्यक सुरुआत नहुँदा टिम लगातार दबाबमा परेको छ ।
जनकपुरले यसअघिका तीन खेलमा क्रमशः १३१, १२६ र १30 रनमात्र बटुलेको छ । १५५ रनको लक्ष्य पछ्याउँदै जनकपुरले २० ओभर खेले पनि १३० रनमै सीमित भएपछि प्लेअफको समीकरण झन् गम्भीर बनेको छ ।
ओपनर आसिफ सेख तीन इनिङमा ६७ रनसहित टिमका शीर्ष रनकर्ता भए पनि समग्र सूचीमा मात्र २२औँ स्थानमा छन्।
कप्तान अनिल साहले तीन खेलमा जम्मा ५ रन जोडे—०, ४ र १ ।
विदेशी खेलाडी लोफ्टी इटोन (४५) र सञ्जय कृष्णमुर्थी (४२) ले औसत योगदान दिए पनि टिमलाई तान्न सकेनन् ।
चर्चित ब्याटर लहिरु मिलान्था दुई इनिङमा ३० रनमै रोकिए । पोखराविरुद्ध मौका पाएका माज सादाकतले १४ बलमा २० रन बनाए।
निराशाजनक प्रदर्शनबारे सोधिएको प्रश्नमा कप्तान अनिलले भने,
“मानसिकता नै सबैकुरा हो। हार्दै गएपछि ब्याटरहरूमा शंका जन्मिन थाल्छ।”
आफ्नो फर्मबारे सोधिँदा उनले निराश हुँदै भने,
“मैले के बताऊँ ? तपाईंहरूले नै केही सल्लाह दिनुस्।”
यो खेल पोखराका लागि ‘डु–वा’–जस्तै थियो । लगातार दुई हारपछि दबाबमा रहेको पोखराले यसपटक ब्याटिङ–बलिङ दुवैमा सुधार देखायो ।
बलिङतर्फ विपीन खत्री उत्कृष्ट रहे—४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए ।
खेलपछि उनले भने,
“पावर प्लेमै विपक्षीलाई दबाबमा राख्यौँ, यही दबाब जितमा बदलियो।”
यो जितसँगै पोखराले हारको सिलसिला तोडेको छ भने जनकपुर बोल्ट्स साविक च्याम्पियनको हैसियत ‘संकट’तिर धकेलिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij