Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

एनपीएलमा रवि बोपाराको इतिहास : लगातार तीन खेलमा अर्धशतक

एनपीएलमा रवि बोपाराको इतिहास : लगातार तीन खेलमा अर्धशतक

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजका इंग्लिस स्टार रवि बोपारा उत्कृष्ट लयमा देखिएका छन्। पहिलो संस्करणमा दोस्रो सर्वाधिक रन (२८६) बनाउने बोपाराले यसपटक पनि लगातार तीन खेलमा अर्धशतक प्रहार गर्दै एनपीएल इतिहासमा लगातार तीन मैचमा फिफ्टी बनाउने एक मात्र ब्याटर बन्न सफल भएका छन्।

बुधबार (मंसिर १०) अपराजित विराटनगर किंग्सविरुद्ध पनि बोपाराले आफ्नो निरन्तरता कायम राख्दै ३८ बलमा ६५ रन जोडे। बोपाराको योगदानमा चितवनले २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनायो।

लक्ष्यसहित मैदानमा उत्रिएको विराटनगर १६.५ ओभरमा १२६ रनमा समेटियो। चितवनका रञ्जित कुमारले शानदार बलिङ प्रदर्शन गर्दै एकै खेलमा पाँच विकेट लिँदै दोस्रो संस्करणका पहिलो र एनपीएल इतिहासकै एक मात्र पाँच विकेट लिने बलर बने।

चितवनलाई चुनौतीपूर्ण स्कोरसम्म पुर्‍याउने बोपाराको ३ चौका र ४ छक्कायुक्त इनिङ त्यति नै महत्वपूर्ण थियो, जतिबेला ९.५ ओभरमा प्रतिश जिसीले बोपाराको क्याच छाडे। उक्त ‘ड्रप क्याच’ विराटनगरका लागि निर्णायक गल्ती साबित भयो।

एनपीएलको दोस्रो संस्करणमा बोपाराले तीन खेलमै १८३ रन जोड्दै ६१ को औसतसहित शीर्ष रनकर्ता बनेका छन्। समग्र एनपीएलमा उनका रन ४६९ पुगेका छन्।

स्पेलका चारै ओभर खेलेका रञ्जितले २१ रन खर्चिँदै पाँच विकेट लिए। उनले साम हेजलेट, बसिर अहमद, नरेन भट्ट, नारायण जोशी र सूर्य तामाङलाई पभेलियन पठाए।
“आज टिमले दिएको साथकै कारण यस्तो प्रदर्शन गर्न सकेँ,” खेलपछि पहिलोपटक पत्रकारको प्रश्न सामना गर्दै रञ्जितले भने।

विराटनगरको ‘रफ्तार’मा ब्रेक

चार खेलपछि विराटनगरलाई प्लेअफ यात्रा सहज बनाउन चितवनविरुद्धको जित आवश्यक थियो। तर, आज ब्याटिङ र बलिङ दुवै मोर्चामा कमजोर प्रदर्शनपछि हार व्यहोर्नुपर्‍यो।
कन्सल्ट्यान्ट प्रशिक्षक धम्मिका प्रसादले पनि गल्तीहरू महँगो साबित भएको स्वीकार गर्दै भने, “सुरुआत राम्रो भएन। हारको जिम्मेवारी दुवै—ब्याटिङ र बलिङ—तर्फैले लिनुपर्छ।”

गत खेलमा फील्डिङका क्रममा घाइते बनेका मार्टिन गप्टिल अनुपस्थित रहे पनि धम्मिकाले हारको कारण उनलाई बनाएनन्।
“गप्टिल अनुभवी छन्, तर उनको अनुपस्थितिलाई बहाना बनाउन मिल्दैन,” उनले भने।

चितवनले तीन खेलमा दोस्रो जित निकाल्दै शीर्ष–४ को आफ्नो सम्भावना मजबुत बनाएको छ, जबकि विराटनगर हारपछि पनि शीर्षस्थानको प्रतिस्पर्धामा सुरक्षित देखिन्छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij