काठमाडौं : बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा सोमबार अपराह्न मुम्बईस्थित आफ्नै निवासमा निधन भएको छ। पछिल्लो समय स्वास्थ्य समस्याका कारण घरमै उपचाररत रहेकाहरुले जानकारी दिएका छन्।
उनको अन्त्येष्टिमा बलिउडका प्रमुख कलाकारहरू — हेमा मालिनी, अमिताभ बच्चन, आमिर खान, करण जोहरसहित धेरै सहकर्मी, परिवारजन र शुभचिन्तकहरूको उपस्थितिमा श्रद्धाञ्जलि अर्पण गरिएको छ। अन्तिम संस्कारमा उनका छोरा सनी देओलले मुखाग्नि दिएका थिए।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जा लमार्फत श्रद्धाञ्जलि व्यक्त गर्दै धर्मेन्द्रको निधनले भारतीय सिनेमाले एउटा असाधारण कलाकार गुमाएको उल्लेख गरेका छन्। प्रधानमन्त्री मोदीका अनुसार धर्मेन्द्रले आफ्नो सरलता, विनम्रता र गर्मजोशीले सबैको मन जितेका थिए। त्यस्तै, भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले पनि श्रद्धाञ्जलि अर्पण गर्दै भारतीय सिनेमामा धर्मेन्द्रले छोएको उचाइ सदैव स्मरणीय रहने बताएकी छन्।


करिब ६० वर्ष लामो आफ्नो फिल्मी यात्रामा धर्मेन्द्रले ३०० भन्दा बढी फिल्ममा अभिनय गरेका थिए। रोमान्टिक भूमिकादेखि एक्सन हिरो र हास्य भूमिकासम्मका पात्रहरूमा दर्शकको मनमा अमिट छाप छोड्दै उनले “ही-म्यान” र “मेगास्टार” को पहिचान प्राप्त गरेका थिए।
अभिनेता धर्मेन्द्रको निधनले सिनेउद्योग र विश्वभरिका लाखौं दर्शकलाई स्तब्ध बनाएको छ। उनी छोडेर गएको अमूल्य कलात्मक विरासत सधैं स्मरणीय रहनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij