ढाका : अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई बङ्गलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणबाट मृत्युदण्डको सजाय सुनाइएपछि, बङ्गलादेश सरकारले भारतलाई उहाँको सुपुर्दगीका लागि पुनः औपचारिक पत्र पठाएको छ।
ढाका ट्रिब्युनका अनुसार रोहिङ्ग्या मुद्दाका लागि उच्च प्रतिनिधि खलीलुर रहमानले नयाँदिल्लीमा कूटनीतिक नोट पेश गरेका छन्। विदेश मामिला सल्लाहकार तौहिद हुसेनका अनुसार ढाकाले भारतसँग औपचारिक संवाद सुरु गरेको छ, तर विस्तृत विवरण खुलाइएको छैन।
गत वर्ष जुलाई–अगस्टको अशान्तिका क्रममा मानवताविरुद्धका अपराधमा शेख हसिनासहित पूर्व गृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्ड र पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल-मामुनलाई पाँच वर्ष कैदको सजाय सुनाइएको थियो। ढाकाले भारतलाई दोषी व्यक्तिहरूलाई बिना ढिलाइ हस्तान्तरण गर्न आग्रह गरेको छ।
बङ्गलादेश विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “मानवताविरुद्धका अपराधमा दोषीलाई आश्रय दिनु न्याय प्रणालीप्रति उपहास हो।” भारतले न्यायाधिकरणको निर्णय स्वीकार गरेको र बङ्गलादेशसँग रचनात्मकरूपमा सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
सुरक्षा विश्लेषक ए.एन.एम. मुनिरुज्जमानका अनुसार शेख हसिनाको मुद्दा अन्तर्राष्ट्रिय मापदण्ड र कानूनी प्रक्रियाबाट गुज्रिएको र प्रत्यर्पण सन्धिअनुसार भारतले सहयोग गर्नुपर्नेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij