Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवनमा क्रिकेटको सुस्त : अध्यक्ष सुदीप पियाको निधनपछि क्रिकेट गतिविधि ठप्प

चितवनमा क्रिकेटको सुस्त : अध्यक्ष सुदीप पियाको निधनपछि क्रिकेट गतिविधि ठप्प

चितवन : कहिल्यै नथाक्ने उत्साह, भीड, आवाज र खेलप्रति समर्पणले भरिएको चितवनको क्रिकेट आज सुस्त र दिशाहीन बन्दै गएको छ। चितवन क्रिकेट संघका अध्यक्ष स्व. सुदीप पियाको असामयिक निधनपछि यहाँको क्रिकेट प्रशासन र गतिविधिमा आएको खालीपन अब स्पष्ट रूपमा महसुस हुन थालेको छ। सुदीप पियाको नेतृत्वमा चितवनको क्रिकेट अत्यन्तै सक्रिय र व्यवस्थित थियो। चर्को गर्मीमा ३५–४० डिग्री तापक्रम पुगे पनि हरेक हप्तामा प्रशिक्षण, प्रतियोगिता र स्थानीय टिमबीचका खेलहरू अविरल चलिरहेकाले चितवन प्रदेशकै होइन, नेपालकै सबैभन्दा सक्रिय क्रिकेट केन्द्रका रूपमा स्थापित हुँदै थियो तर आज तस्वीर पूर्ण रूपमा फरक छ।

क्रिकेट सिजन सुरु भएको एक महिना बितिसक्दा पनि यहाँ कुनै महत्वपूर्ण गतिविधि नदेखिँदा खेलाडी, प्रशिक्षक, अभिभावकदेखि समर्थकसम्म सबै निराश बनेका छन्। यस वर्षका लागि कुनै योजना, तालिका वा प्रतियोगिताको घोषणा नआएकाले सबै पक्ष अनिश्चिततामा छन्।

सुदीप पियाको अन्तिम घोषणा अधुरै रह्यो

U-19 प्रतियोगिताको समापन समारोहमा स्व. पियाले उत्साहित हुँदै घोषणा गरेका थिए— “चितवन U-19 टोलीलाई पूर्व राष्ट्रिय क्रिकेटर सञ्जम रेग्मी (Sanjam Regmi) ले कोचिङ गर्नेछन्।” यो घोषणा खेलाडी र अभिभावकका लागि ठूलो प्रेरणा बनेको थियो। तर पियाको निधनपछिका दिनमा न त प्रशिक्षक सञ्जम रेज्मी चितवन आउने चर्चा सुनियो, न त यस विषयमा कुनै आधिकारिक अपडेट आएको छ। यसले U-19 खेलाडीहरू बीच झनै निराशा र अनिश्चितता थपिएको छ।

खेलाडीहरूको आवाज

“हामी तयारीमै छौँ, तर कहाँ खेल्ने? कहिले खेल्ने? कसैले थाहा दिएको छैन। यो समयमा त सबै टिम मैदानमा व्यस्त हुनुपर्ने हो, तर अहिले मैदान सुनसान छ,” स्थानीय खेलाडीहरूको गुनासो यस्तै छ।

प्रशासनिक शून्यता सुदीप पियाले छोडेको नेतृत्वको खाली स्थान अझै कसैले प्रभावकारी रूपमा भरिदिन नसक्दा चितवनको क्रिकेट प्रशासन समन्वयविहीन देखिन थालेको छ। क्रिकेटप्रेमीहरू भन्छन्— “गत वर्ष हप्तामा दुई–तीन खेल भइरहन्थ्यो, अहिले भने सबै चुपचाप छ। क्रिकेटको भविष्य के हुन्छ भन्ने चिन्ता सताउन थालेको छ।”

चितवनको क्रिकेट – पुनर्जागरणको प्रतीक्षा

सक्रिय नेतृत्व र स्पष्ट कार्ययोजनाको अभावले चितवनको क्रिकेट विकास दर सुस्त मात्र होइन, लगभग ठप्प जस्तै देखिन थालेको छ । यदि छिट्टै पहल भएन भने चितवनका उदीयमान क्रिकेटरहरू अन्य क्षेत्रमा हराउने डर समेत बढ्दै गएको छ। स्थानीय खेल समुदायले सम्बन्धित निकायहरूलाई यथाशक्य छिटो निर्णय लिएर चितवनको क्रिकेट पूर्ववत् उचाइमा फर्काउन आग्रह गरेका छन्

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij