Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

‘बाटुलो जून’को शुभसाइत सम्पन्न : १० वर्षपछि भुवन केसी निर्देशनमा फर्किए, अनमोल मुख्य भूमिकामा

‘बाटुलो जून’को शुभसाइत सम्पन्न : १० वर्षपछि भुवन केसी निर्देशनमा फर्किए, अनमोल मुख्य भूमिकामा

काठमाडौँ : सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण हुने नेपाली चलचित्र ‘बाटुलो जून’ को शुक्रबार शुभसाइत गरिएको छ। पाटनस्थित बगलामुखी मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा कार्यक्रम सम्पन्न गर्दै फिल्म निर्माण टिम औपचारिक रूपमा फ्लोरमा निस्किएको हो।

पछिल्लो फिल्म ‘ड्रिम्स’ प्रदर्शनपछि लगभग १० वर्षको अन्तरालमा अभिनेता तथा निर्देशक भुवन केसी यस फिल्ममार्फत पुनः निर्देशनमा फर्किँदैछन्। फिल्ममा अनमोल केसी प्रमुख भूमिकामा रहेको छ भने प्रिन्सी खतिवडा र नेन्सी खड्काले उनको सहअभिनय गर्नेछन्। भुवन केसी स्वयं पनि फिल्ममा महत्वपूर्ण भूमिकामा देखिनेछन्।

यसका साथै कलाकारहरू प्रकाश घिमिरे, रेअर राई, दिपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटाको पनि अभिनय रहनेछ।

निर्देशक केसीका अनुसार ‘बाटुलो जून’ गाउँको परिवेशमा आधारित स्वच्छ प्रेमकथामा निर्माण हुनेछ। फिल्म निर्माण जीया केसी र भविष्य खड्काले गर्न लागेका हुन् भने खड्का फिल्म ‘जेरी अन टप’ की निर्मात्रीसमेत हुन्।

अभिनेता अनमोल केसीले बुवा भुवन केसीको ‘चिनो’, ‘सम्झना’ र ‘कुसुमे रुमाल’ जस्ता सुपरहिट चलचित्रमा देखिएको अभिनय र स्टाइलबाट आफू प्रेरित रहेको बताउँदै पिता–पुत्रको कलात्मक विरासतलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे। उनले यस चलचित्रमा बुँदादेखि बोली–भाषासम्म धेरै पक्षमा नयाँ रूपमा प्रस्तुत हुन लागेको बताए।

फिल्मको पहिलो चरण ४५ दिनको छायांकन सेड्युलसहित सुरु भएको छ, र काठमाडौ, ढोरपाटन, काभ्रे, चित्लाङ, पोखरा लगायतका स्थानमा शूटिङ गरिनेछ। चलचित्रमा तेजबिक्सम केसी कार्यकारी निर्माता, सामिप्यराज तिमिल्सेना र सरिन पोखरेल लेखक, राजेश श्रेष्ठ छायांकन निर्देशक तथा रेनशा वान्तवा राई कोरियोग्राफर रहनेछन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट