Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

ट्रम्प–ममदानी भेट: राजनीतिक तिक्तबीचको अर्थपूर्ण वार्ता

ट्रम्प–ममदानी भेट: राजनीतिक तिक्तबीचको अर्थपूर्ण वार्ता

वासिङ्टन डिसी  :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र न्यूयोर्कका नवनिर्वाचित मेयर जोहरान ममदानीबीच शुक्रबार ह्वाइट हाउसमा भेट आयोजना हुने भएको छ।

यस भेटलाई अमेरिकी राजनीतिक वृत्तमा विशेष अर्थका साथ हेरिएको छ। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पत्रकारसँगको कुराकानीमा ममदानीतर्फ संकेत गर्दै भनिन्, “एक कम्युनिस्ट ह्वाइट हाउस हुँदैछन्।” उनले अमेरिकी जनताको हितका विषयमा सहमति भए ट्रम्प जो–कोहीसँग भेटवार्ता गर्न तयार रहने पनि स्पष्ट पारिन्।

लेभिटका अनुसार मेयर ममदानी ओभल अफिसमा आउने जानकारी राष्ट्रपति आफैंले सार्वजनिक गरेका हुन्। उनले न्यूयोर्क सहर ट्रम्पको अपेक्षाभन्दा धेरै वामपन्थी दिशातर्फ उन्मुख भइरहेको टिप्पणी पनि गरिन्।

ट्रम्पले बुधबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ममदानीले भेटको अनुरोध गरेको र नोभेम्बर २१ मा ओभल अफिसमा भेट हुने उल्लेख गरेका थिए।

केही महिनायता ट्रम्प र ममदानीबीच तीव्र राजनीतिक तिक्तता चलिरहेको छ। तर हालै न्यूयोर्क सहरमा बढ्दो महँगी, आवास संकटलगायत मुद्दामा छलफल गर्न ममदानी पक्षले ह्वाइट हाउससँग सम्पर्क गरेको समाचार सार्वजनिक भएपछि भेटलाई नयाँ अर्थमा हेरिएको छ। विश्लेषकहरूले यसलाई ममदानीको चुनावी अभियानको तुलनामा अपेक्षाकृत ‘नम्र कूटनीतिक पहल’ का रूपमा व्याख्या गरेका छन्।

चुनावी अभियानका क्रममा ममदानीले ट्रम्पलाई लोकतन्त्रका लागि खतरा भन्दै चर्को आलोचना गरेका थिए। ७९ वर्षीय रिपब्लिकन ट्रम्प र ३४ वर्षीय डेमोक्रेट ममदानी विचारधारागत रूपमा एकअर्काका पूर्ण विपरीत मानिन्छन्।

ट्रम्पले अघिल्लो महिनाहरूमा ममदानीलाई बारम्बार ‘कम्युनिस्ट’ टिप्पणी गर्दै गाली गरेका थिए भने गैरकानूनी आप्रवासीविरुद्ध कडा कार्यान्वयनमा सहयोग नगरे मेयरमाथि कारबाही गर्नेसम्म चेतावनी दिएका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट