Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

बोपाराले लगातार अर्धशतक बनाउँदा लुम्बिनीविरुद्ध चितवनको सम्मानजनक योगफलबोपाराको लगातार अर्धशतक, चितवनले लुम्बिनीविरुद्ध बनायो सम्मानजनक योगफल

बोपाराले लगातार अर्धशतक बनाउँदा लुम्बिनीविरुद्ध चितवनको सम्मानजनक योगफलबोपाराको लगातार अर्धशतक, चितवनले लुम्बिनीविरुद्ध बनायो सम्मानजनक योगफल

काठमाडौं  :  मध्यक्रम ब्याटर रवि बोपाराले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लगातार दुई अर्धशतक प्रहार गरेपछि चितवन राइनोजले लुम्बिनी लायन्सविरुद्ध १४३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस हारेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४२ रनको योगफल खडा गर्‍यो ।

चितवनको ब्याटिङमा बोपाराले सर्वाधिक ६६ रन बनाए । यसक्रममा उनले चार चौका र तीन छक्का प्रहार गरे । जारी प्रतियोगितामा बोपाराको यो लगातार दोस्रो अर्धशतक हो । यसअघि बोपाराले कर्णाली याक्सविरुद्ध ५२ रन बनाएका थिए । यस्तै, समग्र एनपीएलमा भने बोपाराको यो पाँचौँ अर्धशतक हो । यसअघि पनि चितवनकै प्रतिनिधित्व गरेको बोपाराले पहिलो संस्करणमा तीन अर्धशतक बनाएका थिए ।

बोपाराले ४३–३ को स्थितिबाट कप्तान कुशल मल्लसँग चौथो विकेटका निम्ति ४४ रनको साझेदारी चितवनको मध्यक्रम सम्हाल्ने प्रयास गरेका थिए । कुशलले १८ बलमा एक छक्कासहित २१ रन थपे ।

सैफ जैबले सात बलमा दुई चौका र एक छक्कासहित १५ रन जोडे । देव खनालले १४ र ओपनर दीपक बोहराले १० रन बनाए । चितवनले ओपनर डेविड मलानलाई भने पहिलो ओभरमै गुमाएको थियो । मलान ‘गोल्डेन डक’ भएका थिए ।

लुम्बिनीका रुबेन ट्रम्पेलमनले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले २३ रनमात्र खर्चिए । यस्तै, अभिषेश गौतम र गुलबद्दिन नैबको नाममा समान दुई विकेट रह्यो ।

प्रतियोगितामा चितवनको यो दोस्रो खेल हो । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो । प्रतियोगितामा लुम्बिनीको भने यो पहिलो खेल हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij