मध्यविन्दु : नवलपुरको कावासोतीमा रोटरी क्लब अफ नवलपुर कावासोतीको आयोजनामा दुई दिनसम्म निःशुल्क मुटुरोग परीक्षण शिविर हुने भएको छ। शिविर शुक्रबार र शनिबार मध्यविन्दु प्रादेशिक अस्पताल, कावासोती १६ डण्डामा सञ्चालन हुनेछ।
रोटरी क्लब अध्यक्ष कृष्ण अर्यालका अनुसार, विशेष गरी आर्थिक रूपमा कमजोर र मुटुसम्बन्धी कुनै लक्षण देखिएका नागरिकलाई लक्षित गरी परीक्षण हुने छ। शिविर बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।
पूर्व अध्यक्ष अर्जुन सापकोटाले भनेका छन् कि सबैलाई परीक्षण गरिने छैन; पहिलो चरणको जाँचबाट चिकित्सकले आवश्यक ठानेका व्यक्तिहरूलाई मात्र विस्तृत मुटु परीक्षण गरिनेछ।
पूर्व अध्यक्ष हरि ढुङ्गानाले विशेषज्ञ चिकित्सकको टोलीले शिविरमा परीक्षण गर्ने बताउँदै, लक्षण देखिएका वा शङ्का लागेका नागरिकले अवसरको लाभ लिन आउन अनुरोध गरेका छन्।
शिविरमा करिब तीन सय जनाको परीक्षण गर्ने लक्ष्य राखिएको छ।