हेटौँडा : भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले विपद्को समयमा भारतले निरन्तर सहयोग गर्दै आएको बताएका छन्। बिहीबार हेटौँडामा आयोजित आपत्कालीन प्रयोगका लागि भारतले दिएको बेली ब्रिज हस्तान्तरण समारोहमा उनले नेपाल–भारत सम्बन्ध र पूर्वाधार विकासमा भारतको योगदानको चर्चा गरे।
मन्त्री घिसिङका अनुसार भारतको सहयोगमा बनेको हुलाकी राजमार्गले तराई क्षेत्रमा यातायातको पहुँच विस्तार गरेको छ भने पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथ निर्माणले राष्ट्रिय यातायात र व्यापार प्रणालीलाई सुदृढ बनाएको छ। भारतीय एक्जिम बैंकमार्फत सञ्चालित सडक तथा पुल निर्माण परियोजनाले दुर्गम क्षेत्रमा पहुँच सुधार्न, क्षेत्रीय कनेक्टिभिटी बढाउन र राष्ट्रिय यातायात सञ्जाल बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए।
‘भारतले उपलब्ध गराएका परियोजनाले आर्थिक वृद्धि मात्र होइन, जनस्तरको सम्बन्ध पनि गहिरो बनाएको छ,’ मन्त्री घिसिङले भने। उनले सीमापार रेल सञ्जाल विस्तारलाई क्षेत्रीय एकीकरणको कोसेढुंगा भएको पनि बताए।
विनाशकारी भूकम्पपछिको पुनर्निर्माणमा भारतको द्रुत सहयोगको स्मरण गर्दै उनले भने, ‘सडक, पुल र सार्वजनिक सुविधाहरूको पुनर्निर्माणमा भारतको योगदान नेपालको पुनः प्राप्तिका लागि महत्त्वपूर्ण छ।’
मन्त्री घिसिङले शिक्षा, स्वास्थ्य, ऊर्जा र क्षमता निर्माणजस्ता सामाजिक क्षेत्रमा पनि भारतको सहयोगले सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै भविष्यमा हरित पूर्वाधार, जलवायु–उत्थानशील यातायात प्रणाली र डिजिटल कनेक्टिभिटीमा सहकार्यको अपेक्षा व्यक्त गरे।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत–नेपाल विकास सहयोग लामो समयदेखि कायम रहेको र नेपाललाई आवश्यक सहयोग प्रदान गर्न भारत प्रतिबद्ध रहेको बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij