टोकियो : गायक अमृत गुरुङ मञ्चमा देखा पर्नासाथ नै डाउनटाउनस्थित ‘टोकियो डोम सिटी हल’ हलभित्र ठूलो उमङ्ग फैलियो। झिलिमिली बत्ती र दर्शकको चिच्याहटसँग स्वागत पाएका अमृतले माइक समातेर आफ्नो प्रस्तुति सुरु गरे।
कन्सर्ट सुरु हुनुभन्दा आधा घण्टा पहिल्यै हल भरिभराउ थियो। नेपथ्यले हिमपातको प्रभावसँगै प्रस्तुत गरेको ‘भेडाको ऊनजस्तो’ले माहोललाई अर्को उचाइमा पुर्यायो। त्यसपछि अमृतले सर्वकालिक हिट गीत ‘छेक्यो छेक्यो’ गाउँदासम्म ब्यान्डले दर्शकको ध्यान पूर्णतया आकर्षित गरिसकेको थियो।
सोनिका गुरुङ, जो तनहुँको बन्दीपुरबाट तीन वर्षअघि जापान आएकी थिइन्, भन्छिन्, “कामको बोझले थिचिएको व्यस्त जीवनबीच जम्दै गएको छटपटी निकास दिन नेपथ्य कन्सर्ट सर्वोत्तम अवसर साबित भयो। अनुशासनबद्ध प्रस्तुति र देशभक्तिको भावनाले भरिएको प्रस्तुति पूर्ण सन्तुष्टि दियो।”
जापानकै प्रसिद्ध हलमा नेपथ्यले सात वर्षपछि दोस्रो पटक प्रस्तुति दिएको हो। टोकियो नेपथ्यको लागि प्रारम्भका दिनदेखि ब्यान्ड विघटनसम्मका थुप्रै तितामिठा घटनाको साक्षी भएको शहर पनि हो। यो शहर नेपथ्यले मुलुकबाहिर सबैभन्दा धेरै कन्सर्ट दिएको स्थानमध्ये पर्छ।
मङ्गलबारको कन्सर्टमा रोजगारीका लागि मात्र नभई अध्ययनका लागि आएका विद्यार्थीको पनि उल्लेख्य उपस्थिति थियो। मध्यतिर ‘यो जिन्दगानी’ गीतसँगै अमृतले सामाजिक सन्देश पनि दिएका थिए। “तपाईंहरूले पढ्ने अवसर पाउनुभयो, तर नेपालका धेरै केटाकेटी अझै शिक्षाबाट बञ्चित छन्। थोरै पैसा बचाएर भए पनि उनीहरूलाई स्कुलसम्म पठाउन सहयोग गर्नुहोस्,” उनले भने।
कन्सर्टको समापन राष्ट्रिय झन्डाको महिमामा आधारित ‘रातो र चन्द्रसुर्जे’ गीतबाट भएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij