वासिङ्टन : अमेरिकी सांसदहरूले कुख्यात यौन अपराधी जेफ्री एपस्टेनसँग सम्बन्धित सरकारी रेकर्ड सार्वजनिक गराउने एपस्टेन फाइल ट्रान्सपरेन्सी एक्ट अगाडि बढाउन तयारी गरेका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पको निरन्तर अवरोधका बीच करिब १०० भन्दा बढी रिपब्लिकन सांसद नै फाइल सार्वजनिक गर्न तयार भएपछि ट्रम्प अन्ततः दबाबमा परेर पछि हट्न बाध्य भएका छन्। अब प्रतिनिधि सभाबाट विधेयक पारित हुने लगभग निश्चित देखिन्छ।
एपस्टेनको गतिविधि, २०१९ मा हिरासतमा भएको मृत्यु र एक हजारभन्दा बढी सम्भावित पीडितको मुद्दासम्बन्धी अवर्गीकृत कागजात सार्वजनिक गर्ने माग सशक्त रूपमा अघि बढेको छ। जनभावना पारदर्शिताको पक्षमा भएकाले ट्रम्पले भिटो गर्न कठिन परिस्थिति बनेको विश्लेषण गरिएको छ।
यस घटनाले रिपब्लिकन नेतृत्वभित्रको दरार समेत उजागर गरेको छ—सभामुख माइक जोनसनले अचानक फाइल सार्वजनिक गर्ने अडानबाट पछाडि हटेपछि दलभित्र आलोचना चर्किएको थियो। अन्ततः डेमोक्रेटसहित २१८ हस्ताक्षर जुटाएर ‘डिस्चार्ज पिटिशन’मार्फत मतदान प्रक्रिया जबरजस्ती अघि बढाइयो।
ट्रम्प समर्थक मार्जोरी टेलर ग्रीनलगायतले समेत फाइल सार्वजनिक गर्न समर्थन जनाएपछि ट्रम्पले आफ्नो अडान फिर्ता लिन बाध्य भएको देखिन्छ। अब विधेयक सिनेटतर्फ अघि बढ्दैछ, जहाँ पारित हुन ६० भोट आवश्यक छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij