काठमाडौँ : पद्मकन्या कलेजको क्यान्टिन र छात्रावासको भोजनगृहमा खाद्य स्वच्छता कमजोर देखिएको छ। काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमनमा सरसफाइको कमी, जालीदार टोपी, पञ्जा र एप्रोनको उचित प्रयोग नभएको, पुरानो भाँडाकुँडा र आगो जोखिम न्यूनीकरण उपकरण नहुँदा समस्या रहेको पाइएको छ।

अनुगमन टोलीले चमेना गृहबाट म्याद गुज्रिएको चाउमिन नष्ट गरेको छ। कलेजको भोजनगृहमा पनि स्टोर अव्यवस्थित, धुवाँ निकास पङ्खा बिग्रिएको र कीरा नियन्त्रणको उपाय नभएको देखियो। पानी शुद्धिकरण प्लान्टमा पानी नभए पनि पानीको एमोनिया परीक्षण सुरक्षित देखिएको छ।

कलेजका सहायक प्राचार्य विमला नेपालले सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन्। अनुगमन टोलीले सरसफाइ, कीट नियन्त्रण, अनुमतिप्राप्त खाद्य वस्तु प्रयोग र आगो जोखिम न्यूनीकरण उपकरण जडान गर्न निर्देशन दिएको छ।
साथै, बागबजारका विमला स्विट्स एण्ड चार्ट हाउस र बज्रयोगिनी भोजनालय एण्ड खाजा घरको अनुगमनमा मिठाइजन्य वस्तु व्यवसायिक अनुमति बिना बिक्री, फोहोर व्यवस्थापन र कीट नियन्त्रणमा कमी भेटिएको र सुधारको निर्देशन दिइएको छ।



© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij