काठमाडौँ : विश्व पाठेघर मुखको क्यान्सर निवारण दिवस मनाइँदैछ। यस वर्ष पहिलो पटक “आजैदेखि लागौँ: पाठेघरको मुखको क्यान्सर निवारण गरौँ” नारासहित दिवस मनाउन लागिएको हो।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा हरेक वर्ष ६ लाख ६० हजार महिलामा पाठेघरको मुखको क्यान्सर देखिन्छ र करिब ३ लाख ५० हजार महिलाको मृत्यु हुन्छ। नेपालमा महिलामा क्यान्सरबाट हुने मृत्युमा पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा छ, प्रतिदिन ६ महिलामा नयाँ केस देखिन्छ र ४ जनाले ज्यान गुमाउँछन्।
स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले समयमै स्क्रिनिङ, एचपिभी खोप विस्तार, जनचेतना वृद्धि र स्वास्थ्य प्रणाली सुदृढीकरण गर्न आवश्यक रहेको बताए। गत वर्षदेखि राष्ट्रिय खोप कार्यक्रममा ९४% किशोरीलाई पहिलो पटक निःशुल्क एचपिभी खोप दिइएको छ। यस वर्ष फागुनमा ६ कक्षाका विद्यालय छोरी र १० वर्षकी विद्यालयबाहिरकी किशोरीलाई खोप कार्यक्रम समावेश गरिएको छ।
सरकारको लक्ष्य सन् २०३० सम्म ९०% किशोरीलाई खोप, ३० वर्ष माथिका ९०% महिलाको स्क्रिनिङ र क्यान्सर पत्ता लागेका ९०% महिलाको उपचार सुनिश्चित गर्नु रहेको छ।
हाल नेपालमा करिब ११% महिलाले मात्र स्क्रिनिङ गराएका छन्। चुनौतीमा सचेतना अभाव, स्वास्थ्य पहुँच सीमितता, दक्ष जनशक्ति अभाव, सामाजिक लाज र आर्थिक समस्या समावेश छन्। डा. देवकोटाले नियमित जाँच र रोकथामका कदम चाल्न सबैलाई आह्वान गरे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij