Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

वीर अस्पतालमा १० वटा भाइरसको एकैपटक परीक्षण गर्न मिल्ने

वीर अस्पतालमा १० वटा भाइरसको एकैपटक परीक्षण गर्न मिल्ने

काठमाडौँ : वीर अस्पतालले १० वटा विभिन्न रोगका भाइरसको एकैपटक परीक्षण गर्न मिल्ने गरी सेवा सुरु गरेको छ।अस्पतालको मेडिकल जेनेटिक्स (आनुवंशिक) प्रयोगशालामा श्वासप्रश्वास सम्बन्धी विभिन्न १० प्रकारका संक्रामक रोगका भाइरसको एकैपटक परीक्षण गर्न मिल्ने गरी सेवा सुरु गरिएको अस्पतालका मेडिकल आनुवंशिक विभागकी प्रमुख डा. नीलम ठाकुरले जानकारी दिइन्।

आनुवंशिक विभागकी प्रमुख डा. ठाकुरले भनिन्‚ ‘निमोनिया ,विभिन्न प्रकारका इन्फ्लुएन्जा जस्ता १० वटा संक्रमणको एउटै स्याम्पलबाट एकैपटकमा परीक्षण गर्न मिल्ने गरी सेवा सुरु गरेका हौँ।’

यसअघि विरामीमा भाइरसको फरक–फरक परीक्षण गर्दा छुट्टाछुट्टै स्याम्पल झिक्नुपर्ने भए पनि अब एउटै स्याम्पलले १० प्रकारका भाइरसको परीक्षण गर्न मिल्ने हुँदा विरामीलाई सहज हुने बताइन्। ‘सबैभन्दा बुझ्नुपर्ने कुरा के हो भने यसअघि हामीले भाइरसको फरक–फरक परीक्षण गर्दा छुट्टाछुट्टै स्याम्पल झिक्नुपर्ने हुन्थ्यो र परीक्षण पनि फरक फरक समयमा गर्नुपर्ने बाध्यता थियो तर अब भने एउटै स्याम्पलबाट निमोनिया, विभिन्न प्रकारका इन्फ्लुएन्जा जस्ता संक्रमणको एउटै स्याम्पलबाट एकै समयमा परीक्षण गर्न मिल्छ। सम्भवतः यो हाम्रो देशमा सरकारी अस्पतालहरूमा नै पहिलो सुरुवात छ, यसले विरामीलाई सहज मात्रै होइन पैसा पनि कम लाग्छ’‚ डा ठाकुरले भनिन्।

उनले भाइरसले रोग पत्ता लगाएपछि पनि सम्पूर्ण उपचार वीर अस्पतालमै उपचार गरिने उनले बताइन्। यो परीक्षणका लागि वीर अस्पतालभन्दा बाहिरबाट आएका स्याम्पलको पनि परीक्षण हुने उनको भनाइ छ।

यस्तै वीर अस्पतालको उक्त जेनेटिक प्रयोगशालामा मस्तिष्क सङ्क्रमणसम्बन्धी ६ वटा भाइरसको पनि एकैपटकमा परीक्षण सुरु गरिएको डा. ठाकुरले बताइन्।

‘श्वासप्रश्वास सम्बन्धी भाइरस संक्रमण मात्रै होइन हामीले मस्तिष्कमा हुने विभिन्न प्रकारका ६ वटा भाइरस संक्रमणको पनि एउटै स्याम्पलबाट एकै समयमा परीक्षण गर्न सुरु गरेका छौँ’‚डा. ठाकुरले भनिन्।

उक्त प्रयोगशालामा फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोग (टिबी)समेत परिक्षण सुरु गरिएको छ। ‘प्रायः हाम्रोमा टिबी भन्नेबित्तिकै फोक्सोमा मात्रै हुन्छ भन्ने बुझाइ छ तर टीबी शरीरका अन्य अंग ( घाँटी, पाठेघर, मेरुदण्ड)जस्ता ठाउँमा पनि हुन्छ। त्यसैले हामीले फोक्सो बाहेक शरीरका अन्य भागमा हुने टिबीको परीक्षण समेत सुरु गरेका छौँ’‚ डा. ठाकुरले भनिन्।

डा. ठाकुरका अनुसार अहिले एक दिन बिराएर पालोअनुसार रोगको परीक्षण गर्ने गरिएको छ। अहिले प्रयोगशालामा २५ वटा आनुवंशिक रोगका भाइरसको नियमति परीक्षण गर्ने गरिएको छ।

विसं २०७३ मा आनुवंशिक (जेनेटिक) रोगको पहिचान र उपचार गर्न स्थापना गरिएको प्रयोगशालामा जनशक्ति तथा उपकरण अभावले रोगको परीक्षण नियमित हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij