Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

स्वस्थ दुध उत्पादनका लागि ६६ हजार चौपायालाई खोप लगाइँदै

स्वस्थ दुध उत्पादनका लागि ६६ हजार चौपायालाई खोप लगाइँदै

फिदिम : पाँचथर जिल्लामा ६६ वटा पशु चौपायालाई खोरेत रोगविरुद्धको सुई लगाइने भएको छ । विशेषतः दुध उत्पादनका लागि पालिएका गाई भैंसी र चौंरीलाई खोप लगाइने भएको हो । स्वस्थ दुध उत्पादनसँगै दुग्धजन्य वस्तुको निर्यात बढाउन यस्तो अभियान चलाउन लागिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले जनाएको छ । पहिलो चरणमा दुधका स्रोत गाई भैंसी र चौंरीलाई खोप लगाइने छ । खोप लगाएका गाई भैंसीका दुध खोरेतका जिवाणु रहित हुने भएकाले तिनको दुध घिउ र छुर्पी पनि स्वस्थ हुने पशु प्राविधिकहरु बताउछन् ।

जसका लागि तीन तहका सरकारले सहकार्य गर्दै एक महिनासम्म खोप अभियान चलाउने लागिएको विज्ञ केन्द्रको तयारी छ । कार्यालयका अनुसार अभियान कात्तिक २३देखि मङ्सिर २३ सम्म सञ्चालन हुने भएको हो । भेटेरिनरि कार्यालयले खोप अभियान सञ्चालनका लागि जिल्ला स्थित सबै पालिकाका पशु सेवा शाखा र सरोकारवालाहरुको उपस्थितिमा तयारी बैठक सम्पन्न गरेको छ ।

शुक्रबार सम्पन्न कार्यक्रममा दिइएको जानकारी अनुसार जिल्लाको एक नगर र ७ गाउँपालिका गरी आठवटै स्थानीय तहका ६६ हजार पशु चौपायालाई खोरेतविरुद्धको खोप लगाइने र त्यसका लागि संघ, प्रदेश र स्थानीय सरकारका निकायले समन्वय र सहकार्य गर्नेछन् ।

अभियानका लागि आवश्यक भ्याक्सिन सङ्घीय सरकारले उपलव्ध गराउने भएको छ भने प्रदेश सरकारले आर्थिक व्यवस्थापन गरेको छ । जस अनुसार नगरपालिकालाई पाँच लाख र गाउँपालिकाहरुलाई एक लाख २५ हजारका दरले रकम उपलव्ध भएको बताइएको छ ।

सरकारले गाई भैंसी र चौरीको दुधबाट उत्पादन भएका घीउ, छुर्पी र चीज जस्ता बस्तुको निर्यात बढाउन यस्तो अभियान थालेको हो । खोरेत रोग लागेका जनावनरको दुधबाट उत्पादन भएका दुग्धजन्य बस्तु गुणस्तरीय नहुने भएकाले निर्यात बजार प्रभावित हुने भएकाले स्वस्थ उत्पादनमा जोड दिन अभियान चलाइने भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरका सूचना अधिकारी निरजकुमार भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारले इलामलाई दुग्धजन्य पदार्थ उत्पादनका लागि पकेट क्षेत्रका रुप स्थापित गरेको छ । सोहि अनुसार छिमेकी जिल्ला पाँचथरमा पनि खोरेतविरुद्धको खोप अभियान सुरु गरेको हो । भेटेनरी कार्यालयले यसअघि जिल्लामा खोरेत रोगको अवस्था कस्तो छ भनेर गाई भैंसीको रगतको नमुना लिएर परीक्षण गरेको थियो । गाई भैंसी र चौंरी गरी ६० वटा जनावरको नमुना परीक्षण गर्दा चार वटामा खोरेतका जिवाणु भेटिएको कार्यालयले जनाएको छ । पाँचथरमा गत वर्ष पहिलो चरणमा ७८ हजार पशु चौपायालाई खोरेत रोगविरुद्धको खोप दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij