Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

प्रभु बैंकको मुख्यालयमा सीआईबीको छापा, दुई दर्जनभन्दा बढी संवेदनशील फाइल नियन्त्रणमा

प्रभु बैंकको मुख्यालयमा सीआईबीको छापा, दुई दर्जनभन्दा बढी संवेदनशील फाइल नियन्त्रणमा

काठमाडौँ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकको मुख्यालयमा छापा मारेको छ। शुक्रबार दिउँसो साढे २ बजेदेखि राति साढे १० बजेसम्म बैंकको अनामनगरस्थित केन्द्रीय कार्यालयमा गरिएको छापामा सीआईबीले दुई दर्जनभन्दा बढी संवेदनशील कागजात र इलेक्ट्रोनिक अभिलेख नियन्त्रणमा लिएको छ।

सीआईबीले प्रभु समूहका अध्यक्ष तथा प्रभु बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचन विरुद्ध चलिरहेको विस्तृत अनुसन्धानको क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन समेत संलग्न रहेको शंका बढेपछि आकस्मिक रूपमा छापा मारेको हो।

बैंकका एक वरिष्ठ कर्मचारीका अनुसार, सीआईबीको टोली बैंकमा पुगेको समयमा सञ्चालक समितिको बैठक चलिरहेको थियो। टोली आउँदैछ भन्ने सूचना चुहिएपछि सीईओ शेरचन हतारमा आफ्नो कार्यकक्षमा पुगेका थिए। केही बेर ढोका बन्द गरी बसेपछि उनले ब्याग बोकेर कार्यालय परिसर छाडेका थिए। सीआईबीको टोली पुगेको करिब पाँच मिनेटअघि नै उनी बाहिरिएको स्रोतले जनाएको छ।

एसपी निरञ्जन भट्टको नेतृत्वमा २१ सदस्यीय सीआईबी टोलीले बैंकका विभिन्न विभागमा करिब आठ घण्टा लामो खानतलासी गरेको थियो। टोलीले विशेष गरी प्रभु यूएस र प्रभु बैंकबीचको रेमिट्यान्स सम्झौता, बैंक ग्यारेन्टीसँग सम्बन्धित कागजातहरू, प्रभु म्यानेजमेन्ट र प्रभु हाउजिङका कर्जा फाइलहरू, साथै बैंकको आन्तरिक सञ्चार अभिलेख र इलेक्ट्रोनिक डेटा नियन्त्रणमा लिएको छ।

स्रोतका अनुसार ती फाइलहरूमा बैंकका पूर्वअध्यक्ष भट्टचन, सीईओ शेरचन र प्रभु समूह अन्तर्गतका अन्य कम्पनीहरूबीच भएका वित्तीय कारोबारका विस्तृत विवरणहरू रहेका छन्। छानबिनका क्रममा सीआईबीका अधिकारीहरूले बैंकका विभाग प्रमुख, शाखा प्रबन्धक र केही वरिष्ठ कर्मचारीहरूसँग सोधपुछसमेत गरेका थिए।

भट्टचन कात्तिक ११ गतेदेखि सीआईबीको हिरासतमा रहेका छन्। उनीमाथि ठगी, आपराधिक विश्वासघात, र नेपाल राष्ट्र बैंक ऐन बमोजिमका कसुरहरू गरेको आरोप लागेको छ। सीआईबीका अनुसार, छानबिन जारी रहेको र नियन्त्रणमा लिइएका फाइलहरूको प्रारम्भिक अध्ययनपछि थप कानुनी प्रक्रिया अघि बढाइने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट