काठमाडौँ : भारतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई २८३ मेगावाट विद्युत निर्यात अनुमति नवीकरणको स्वीकृति दिएको छ। बुधबार भारतको विद्युत मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणले नेपालका आठ जलविद्युत आयोजना मार्फत निर्यात भइरहेका विद्युतको स्वीकृति थप एक वर्षका लागि नवीकरण गरेको हो।
प्राधिकरणले देशभित्र खपत भएपछि बाँकी विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (IEX) को डे–अहेड र रियल–टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ। साथै, हरियाणा र बिहार राज्यसँगको द्विपक्षीय सम्झौताअनुसार तथा भारतीय प्रसारण संरचना प्रयोग गरी बंगलादेशमा समेत विद्युत निर्यात भइरहेको छ।
नवीकरणमा परेका आयोजनाबाट उत्पादन हुने करिब १०३ मेगावाट विद्युत आइएक्समार्फत बिक्री हुने भएको छ। ती आयोजना विभिन्न मितिमा समाप्त भएका स्वीकृतिहरू नवीकरण भएपछि अब पुनः एक वर्षसम्म आइएक्समा प्रतिस्पर्धी दरमा विद्युत बेच्न सक्नेछन्।
त्यसैगरी, द्विपक्षीय सम्झौताअनुसार हरियाणा राज्यलाई बिक्री भइरहेको करिब १८० मेगावाट विद्युतको अनुमति पनि आज सकिँदै थियो। नेपाल विद्युत प्राधिकरणले यी आयोजनाहरूको विद्युत आइएक्समा पनि बिक्री गर्न माग गरेको थियो, जसलाई भारतीय पक्षले स्वीकृति दिएको हो। यससँगै शुक्रबारदेखि यी आयोजनाबाट उत्पादित विद्युत निरन्तर रूपमा आइएक्समा बिक्री गर्न सकिनेछ।
भारत भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भारतीय विद्युत मन्त्री मनोहरलाल खट्टरसँगको भेटमा विद्युत निर्यात स्वीकृति प्रक्रिया सरलीकृत गर्न आग्रह गरेका थिए। उनले नेपालमा अहिले विद्युत उत्पादनको सबैभन्दा अनुकूल समय भएकाले स्वीकृति तत्काल नवीकरण गर्न अनुरोध गरेका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij