चितवन : चितवनको भरतपुर महानगरपालिका–१० का वडा अध्यक्ष परमेश्वर खनालले वडाभित्रका सडकमा रहेका अव्यवस्थित तथा प्रयोगविहीन तार हटाउने अभियान सुरु गरेका छन्।
विगत लामो समयदेखि विद्युत पोलमा विभिन्न टेलिकम, केबुल टेलिभिजन र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले अव्यवस्थित रूपमा तार झुण्ड्याउँदा सडक कुरूप देखिनुका साथै दुर्घटनाको जोखिम समेत बढेको भन्दै अध्यक्ष खनाल आफैं एक्सनमा उत्रिएका हुन्।
उनका अनुसार, वडाले बारम्बार सचेत गराउँदा पनि सम्बन्धित कम्पनीहरूले अटेर गरेपछि प्रत्यक्ष कार्यवाही थालेको हो। “पहिलो चरणमा वडा कार्यालयअगाडिको सडकबाट अभियान सुरु गरिएको छ, अब क्रमशः सम्पूर्ण वडामा विस्तार गरिनेछ,” अध्यक्ष खनालले भने।
उनले वडाका विद्युत पोलमा झुण्डिएका प्रयोगविहीन तथा जोखिमपूर्ण तार हटाउने कार्यमा स्थानीयको समेत सहभागिता रहेको जानकारी दिए।