नयाँदिल्ली : नेपाल र भारतबीच ऊर्जा साझेदारी थप सुदृढ बनाउने उद्देश्यसहित दुई महत्वपूर्ण घटनाक्रम भएका छन्।
पहिलो, नेपाल र भारतबीच इनरूवा–पूर्णिया र लम्की (दोदोधारा)–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त उपक्रम (जे.भी.) तथा सेयरहोल्डर सम्झौतापत्र बुधबार नयाँदिल्लीमा हस्ताक्षर भएको छ। कार्यक्रममा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र भारतका विद्युत् मन्त्री मनोहरलाल खट्ठर उपस्थित थिए। सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक सुभाषकुमार मिश्र र पावर ग्रिड कर्पोरेसन अफ इन्डिया लिमिटेडका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख सञ्चालन अधिकृत सञ्जयकुमार गुप्ताले हस्ताक्षर गरे।
सम्झौतापत्र अनुसार, नेपाली भूभागमा पर्ने खण्डमा प्राधिकरणको ५१% र पावर ग्रिडको ४९% सेयर रहनेछ भने भारतीय भूभागमा ५१%–४९% संरचना हुनेछ। इनरूवा–पूर्णिया लाइनको करिब २६ किलोमिटर खण्ड नेपालमा र १०९ किलोमिटर खण्ड भारतमा निर्माण हुनेछ। लम्की–बरेली लाइनको ३३ किलोमिटर खण्ड नेपाल र १८५ किलोमिटर भारतमा पर्नेछ। दुवै लाइनको निर्माण सन् २०३० भित्र पूरा गर्ने लक्ष्य राखिएको छ।
दोस्रो, अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं महासभामा सहभागी हुन नयाँदिल्ली पुगेका मन्त्री घिसिङ र भारतीय समकक्षी खट्टरबीच भेटवार्ता भएको छ। भेटमा नेपाल-भारतबीचको विद्युत् व्यापार, प्रसारण लाइन विस्तार, भारतीय लगानीमा निर्माणाधीन जलविद्युत् आयोजना, दीर्घकालीन ऊर्जा साझेदारीलगायत विषयमा छलफल भएको छ। कार्यक्रममा नेपालका राजदूत शंकरप्रसाद शर्मा, भारतका विद्युत् सचिव पंकज अग्रवाल र ऊर्जा मन्त्रालयका उच्च अधिकारीहरु उपस्थित थिए।
मन्त्री घिसिङले अन्तरदेशीय प्रसारण लाइन निर्माणले नेपालमा उत्पादित विद्युत् निर्यात गर्ने आधार तयार गर्ने र अन्तर्राष्ट्रिय ऊर्जा बजारमा नेपालको पहुँच बढाउने बताए। भारतीय मन्त्री खट्ठरले पनि यसले दुवै देशको विद्युत् विनिमय सुदृढ पार्ने र क्षेत्रीय ऊर्जा सुरक्षामा योगदान पुर्याउने उल्लेख गरे।
हाल नेपाल-भारतबीच ४०० केभी ढल्केबर–मुजफ्फपुर लाइन सञ्चालनमा छ भने बुटवल–गोखरपुर लाइन निर्माणाधीन छ। यी दुई नयाँ लाइन पूरा भएपछि नेपालमा उत्पादित विद्युत् निर्यात क्षमता उल्लेख्य रूपमा बढ्ने छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij