काठमाडौँ : जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्या आरोपमा पक्राउ परेका अभियुक्तले आरोप स्वीकार गरेका छन् । आबेको हत्यासम्बन्धी मुद्दा सुरु भएको पहिलो दिन सोमबार अभियुक्त तात्सुया यामागामीले अदालतसामु आफैंले आबेको हत्या गरेको बताएका छन् ।
स्थानीय मिडियाले समाचार छापे अनुसार सबै कुरा सत्य भएको ४५ वर्षका यामागामीले टोकियोको एक अदालतमा बताएका थिए । २०२२ को जुलाई ८ मा जापानको नारा शहरमा सत्तारुढ दलको चुनावी अभियान कार्यक्रमलाई सम्बोधन गरिरहेको समयमा उनले आबेमाथि बन्दुक चलाएका थिए । यसका लागि उनले घरमै बनाएको बन्दुक प्रयोग गरेका थिए । आबेमाथि कयौं पटक गोली प्रहार भएको थियो ।
घटनालगत्तै आबेलाई अस्पताल लगिएको थियो । तर सोही दिन अस्पतालमा उनको मृत्यु भयो । आबे आक्रामक विदेश नीतिका लागि चर्चित थिए । अफस्फीतिको चक्रबाट जापानी अर्थतन्त्रलाई उकास्न उनले ल्याएको नीति ‘आबेनेमिक्स’ निकै चर्चित बनेको थियो ।
सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र युनिफिकेशन चर्चबीचको साठगाँठबाट असन्तुष्ट रहेका यामागामीले चर्चसँग आबेको निकटताका कारण उनीमाथि गोली प्रहार गरेको बुझिएको थियो । कुनै समयमा आफ्नी आमाले चर्चलाई १० करोड येन दान दिएकै कारण आफ्नो बिल्लीबाठ भएको यामागामीले बताएका थिए ।
यो घटनापछि चर्चमाथि जापानमा छानबिन भएको थियो । पछि टोकियोको एक अदालतले युनिफिकेशन चर्चलाई भङ्ग गर्न आदेश दिएको थियो । यामागामीको मुद्दामा जनवरीसम्म फैसला नआउने अनुमान गरिएको छ । आबेको हत्याबाहेक पनि यामागामीमाथि हत्या र बन्दुक नियन्त्रण कानुन उल्लङ्घनको आरोप पनि छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij