राजेन्द्र आचार्य, चितवन : सौराहामा पर्यटक आकर्षणका रूपमा लोकप्रिय हात्ती नुवाउने कार्यक्रम पुनः सुरु गरिएको छ । तेस्रो पर्यटक गन्तव्यका रूपमा विकास भइरहेको सौराहामा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको अगुवाइमा कार्यक्रम सुरु भएको हो ।
वन्यजन्तु र जैविक विविधताले भरिपूर्ण चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारमा सञ्चालन भएको यो कार्यक्रमले सौराहालाई वन्यजन्तु–मैत्री पर्यटन क्षेत्रका रूपमा स्थापित गर्न सहयोग पुर्याउने सौरेली पर्यटन व्यवसायीहरू बताउछन् ।
हात्ती सहकारीका अध्यक्ष दिपेन्द्र खतिवडाका अनुसार हात्ती नुवाउने कार्यक्रमले सौराहामा आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि नयाँ आकर्षण थप्नेछ । उनले भने, “वन्यजन्तु संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हात्ती नुवाउने कार्यक्रम पुनः सञ्चालनमा ल्याएका हौं ।”
यसअघि ‘इलिफेन्ट बाथ’ नामले परिचित हात्ती नुवाउने कार्यक्रम केही वर्षअघि अव्यवस्थित व्यवस्थापनका कारण रोकिएको थियो । अब सहकारीको संयोजनमा सो कार्यक्रम पुनः व्यवस्थित र सुरक्षित रूपमा सञ्चालन थालिएको छ ।