Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

हिमनदीमा आधारित ३३५ मेगावाटको आयोजना, कर्णाली हबसँग जोडिने प्रसारण लाइन

हिमनदीमा आधारित ३३५ मेगावाटको आयोजना, कर्णाली हबसँग जोडिने प्रसारण लाइन

काठमाडौँ : आर्थिक रूपमा पछाडि रहेको हुम्ला जिल्लामा ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि तयारी तीव्र रूपमा अघि बढाइएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसपछि वन तथा वातावरण मन्त्रालयले हाल सो आयोजना सम्बन्धी वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रक्रिया अगाडि बढाइरहेको छ। आयोजना रुरु जलविद्युत् परियोजनाले निर्माण गर्ने भएको हो।

हुम्लाको खार्पूनाथ र सर्केगाड गाउँपालिकामा अवस्थित यो आयोजना नदी प्रवाहमा आधारित कर्णाली नदी बेसिनको एक प्रमुख आयोजना मानिन्छ। हिमनदीमा आधारित भएकाले यो आयोजना ऊर्जाको स्थायित्वका दृष्टिले पनि महत्वपूर्ण मानिएको छ। इआइएको प्रक्रिया अन्तर्गत मन्त्रालयले यसअघि नै सार्वजनिक सूचना जारी गरी सरोकारवालासँग सुझाब र सल्लाह मागिसकेको जनाएको छ।

आयोजना निर्माणका लागि ४७.१३ हेक्टर जग्गा आवश्यक पर्नेछ। ५० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजनाका लागि वातावरण संरक्षण ऐन, २०७६ अनुसार इआइए अनिवार्य गरिएको प्रावधानअनुसार अध्ययन कार्य भइरहेको हो। प्रस्तावित आयोजनाको डिजाइन डिस्चार्ज ११८.७० घनमिटर प्रति सेकेण्ड रहनेछ भने दुईवटा डाइभर्सन सुरुङ निर्माण गरिनेछ, जसको लम्बाइ क्रमशः ५४५ र ५४२ मिटर तथा व्यास ९.५ मिटर रहनेछ।

आयोजनाबाट सुक्खा मौसममा ६०९.८९ गिगावाट घण्टा र वर्षा याममा १,१८४.८३ गिगावाट घण्टा बिजुली उत्पादन हुने अनुमान गरिएको छ। उत्पादित बिजुली २० किलोमिटर लामो डबल सर्किट ४०० केभी क्षमताको प्रसारण लाइनमार्फत मुगु कर्णाली हबमा जोडिनेछ। आयोजना निर्माणका क्रममा ५६ घरधुरी प्रभावित हुने र १८८ रुख काट्नुपर्ने अनुमान छ।

कुल लागत रु ७२ अर्ब ९० करोड ८० लाख रहने अनुमान गरिएको छ। प्रतिमेगावाट लागत करिब रु २१ करोड ७६ लाख पर्नेछ। निर्माण चरणमा करिब १,८०५ जनाले रोजगारी पाउने र सञ्चालन चरणमा ११५ जनाले स्थायी रोजगारी प्राप्त गर्ने अनुमान छ। आयोजनाको सफल निर्माणले हुम्ला तथा आसपासका जिल्लामा ऊर्जा, रोजगारी र पूर्वाधार विकासमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट