Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

“ब्रेक लगाउँदै ओरालो झर्दै थिएँ। अचानक बस सिधै आएर ठोक्कियो, भगवानले जोगाउनुभयो” !

“ब्रेक लगाउँदै ओरालो झर्दै थिएँ। अचानक बस सिधै आएर ठोक्कियो, भगवानले जोगाउनुभयो” !

मुग्लिन  : नारायणघाट–मुग्लिन सडकखण्डको गाइघाट ओरालोमा शनिबार बिहान भएको भीषण सवारी दुर्घटनामा सात वटा गाडी एकपछि अर्को गरी ठोक्किँदा २१ जना घाइते भएका छन्। यात्रुबस र ट्रक एकआपसमा ठोक्किँदा सुरु भएको दुर्घटनाले पछाडिका पाँच सवारीसाधन पनि चपेटामा परेका थिए।

दुर्घटना बिहान झन्डै ७ बजेको हो। सुरुमा नारायणघाटतर्फ आउँदै गरेको ना ८ ख ६६२९ नम्बरको ट्रक र पोखराबाट काठमाडौंतर्फ गइरहेको बा ४ ख ७४२० नम्बरको बस ठोक्किएका थिए। त्यसपछि बसको पछाडिबाट आएका अन्य सवारी एकातिर नहट्न सकेर ठक्कर श्रृंखला सुरु भएको स्थानीयले बताएका छन्।

बसले ओभरटेक गर्दा ट्रकमा सीधै ठोक्कियो

ट्रक चालक ३५ वर्षीय अजय स्याङतान मकवानपुर बकैया घरका हुन्। उनी शुक्रबार राति काठमाडौँबाट वीरगञ्जतर्फ कवाडी सामान लोड गरेर निस्किएका थिए। मुग्लिन पार गरेपछि गाइघाटतर्फ झर्दै गर्दा दुर्घटना भएको हो।

स्याङतान भन्छन्, “हामी ओरालोमा ब्रेक लगाउँदै झर्दै थियौं, सामान लोड थियो, गति पनि कम थियो। अचानक अगाडिबाट आएको बसले ट्रेलर ओभरटेक गरेर सिधै ट्रकमा ठोक्कियो। त्यही बेला मनमा आयो, अब त आज अन्तिम दिन रहेछ।”

दुर्घटनाका क्रममा उनको साथमा रहेका काकाका छोरो पनि सुतिरहेको अवस्थामा भएकाले उनी निकै त्रसित थिए। ‘भगवानले जोगाउनुभयो’, उनले भावुक हुँदै भने।

बस पछाडिबाट रहेका पाँच सवारी पनि क्रमशः ठोक्किए। दुर्घटनामा संलग्न सवारीसाधन यसप्रकार छन् –

ट्रेलर: ना ७ ख ९६०७, माइक्रोबस: बा.प्र. ०६-००१ ग ०४८४, बस: ग २ ख १६२६, बोलेरो: ना ३ च ३२५६, कार: बिएबी ८४७०, परकियमनसँगै ओभरटेक, ८० किमीको गति बा ४ ख ७४२० नम्बर बसका सहचालक १८ वर्षीय अनिस भण्डारी स्वयं घाइते छन्। उनीका अनुसार बसमा २०–२५ जना सवार थिए।

उनले भने, “हाम्रो बसले अगाडि भएको पोखरा जाने अर्को बस र माइक्रोलाई ओभरटेक गरिसकेको थियो। त्यसपछि ट्रेलरलाई उछिनेर अगाडि पुग्दा ट्रकलाई छल्न पाइएन। झ्याम्मै ठोक्कियो।” उनले बसको गति त्यतिबेला करिब ८० किमी प्रतिघण्टा रहेको बताए। “इतिलो गति हाम्रो बसमा सधैंजसो हुन्छ,” भण्डारीले स्वीकारे।

घाइतेको अवस्था र उपचार

चितवन प्रहरीका अनुसार कुल २१ जना घाइते भएका छन्। डिएसपी रविन्द्र खनालले दिएको विवरणअनुसार –

१३ जना नेशनल सिटी अस्पतालमा, ४ जना चितवन मेडिकल कलेजमा, ४ जना जनता केयर अस्पतालमा उपचाररत छन्। ट्रक चालक स्याङतानको छातीमा र बस सहचालक भण्डारीको ढाडमा चोट लागेको छ। अन्य घाइतेको पहिचान खुलेको छैन।

दुर्घटनाको कारणबारे प्रहरीको भनाइ

चितवन प्रहरीका एसपी गोबिन्द पुरीका अनुसार दुर्घटना तीव्र गतिका कारण भएको प्रारम्भिक निष्कर्ष छ। उनले भने, “ट्रक र बस ठोक्किएपछि पछाडिका सवारीले तुरुन्तै गति नियन्त्रण गर्न सकेनन् भन्ने देखिन्छ। अनुसन्धान भइरहेको छ।” दुर्घटनापछि केही समय सडक अवरुद्ध हुँदा यातायात प्रभावित भएको थियो। बिहानैको समय भएकाले थप मानवीय क्षति हुन नपाएको प्रहरीले बताएको छ।

यस्तो दुर्घटना नौलो तर चिन्ताजनक

नारायणघाट–मुग्लिन सडकमा पहिरो, साना दुर्घटना, ट्याक्सी र ट्रक ठोक्किएको खबर सामान्य भइसकेको स्थानीयवासीको भनाइ छ। तर एकैसाथ सात सवारी ठोक्किएको घटना भने दुर्लभ र गम्भीर मानिएको छ। स्थानीय बासिन्दाले सो सडकखण्डमा ओभरटेक नियन्त्रण, गति सीमा पालन र ट्राफिक अनुगमन कडा हुनुपर्ने सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट