चितवन : हरियाली समाज नेपाल चितवनले मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित सीमान्तकृत तथा हुँदा खाने समुदायलाई चाडपर्व लक्षित खाद्यान्न र स्टेशनरी सामग्री वितरण गरेको छ। विगतदेखि सामाजिक सेवा गतिविधिमा सक्रिय रहेको संस्थाले यस वर्ष पनि आर्थिक र सामाजिक रूपमा पछाडि परेका समुदायलाई लक्षित गरी सहयोग पुर्याएको हो।

संस्थाका महासचिव शिरलाल परियारका अनुसार स्थानीय तहका प्रतिनिधि र समुदायको समन्वयमा वास्तविक लाभग्राही पहिचान गरी सहयोग पुर्याइएको हो। “चाडपर्वमा पनि पेट भरेर खान नपाउने परिवार धेरै भेटिन्छन्। हामीले त्यसैलाई लक्षित गरी खाद्यान्न र बालबालिकाका लागि स्टेशनरी उपलब्ध गराएका छौँ,” परियारले बताए। उनका अनुसार संस्थाले पहिचान गरिएका परिवारलाई चामल, दाल, नुन, तेलजस्ता खाद्य सामग्रीसँगै विद्यार्थीका लागि कपी, कलम र शैक्षिक सामग्री वितरण गरेको हो।

राहत वितरण क्रममा समुदायका अभिभावकहरू र स्थानीय अगुवाहरू सहभागी थिए। चाडपर्वको समयमा प्राप्त सहयोगले दैनिक जीवनयापनमा राहत पुग्ने र बालबालिकाको पढाइमा समेत सहयोग पुग्ने स्थानीयवासीहरूले बताएका छन्। समुदायभित्र शिक्षादेखि स्वास्थ्य र आधारभूत आवश्यकता सहज नभएको अवस्थामा यस्तो सहयोगले सकारात्मक सन्देश दिएको उनीहरूको भनाइ छ।

महासचिव परियारले आगामी दिनमा पनि यस्ता जनमुखी कार्यक्रम निरन्तरता दिने प्रतिबद्धता जनाए। “सहयोग एकदिने कार्यक्रम होइन। यस्ता समुदायको दीर्घकालीन सशक्तीकरणका लागि पनि योजना बनाइरहेका छौँ,” उनले थपे।
सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत सीमान्तकृत समुदायलाई सहारा पुर्याउँदै आएको हरियाली समाज नेपालले यसअघि चितवन र आसपासका जिल्लाहरूमा स्वास्थ्य शिविर, शिक्षासामग्री सहयोग र विपद् राहतजस्ता कार्यक्रम सञ्चालन गरिसकेको छ।

राक्सिराङका स्थानीय प्रतिनिधिहरूले संस्थाको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अन्य क्षेत्रका समस्यामा पनि सहकार्य अपेक्षा राखेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij