Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

सीसँगको बैठक रद्द भएकाे छैन : ट्रम्प

सीसँगको बैठक रद्द भएकाे छैन : ट्रम्प

वासिङ्टन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार (स्थानीय समय) चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आफ्नो नियोजित बैठक आधिकारिक रूपमा रद्द नगरेको भन्दै ‘सीलाई भेट्ने कुनै कारण छैन’ भन्ने आफ्नो हालैको टिप्पणीलाई स्पष्ट पारेका छन् । ट्रम्पले चीनले दुर्लभ पृथ्वी तत्त्व (खनिज तत्त्व) हरूको निर्यातमा इजाजत पत्र अनिवार्य गर्ने नयाँ नीति ल्याएकोमा आश्चर्य व्यक्त गर्दै यस कदमलाई ‘अप्रत्याशित’ भनेका छन् ।

‘मैले बैठक रद्द गरेको होइन । यद्यपि, त्यो निश्चित छ वा छैन भन्ने कुरा पक्का छैन । जे भए पनि म त्यहाँ हुनेछु । म अनुमान गर्छु, बैठक हुन सक्छ । तर उनीहरूले संसारलाई अचम्म पार्ने कदम चाले । अचानक, कुनै पूर्वसूचना बिना उनीहरूले यो सम्पूर्ण आयात–निर्यात अवधारणा ल्याए, जसको बारेमा कसैलाई थाहा थिएन’, ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग भने ।

यसअघि उनले चीनले दुर्लभ पृथ्वी तत्त्वहरूमा नयाँ निर्यात नियन्त्रण लगाएको ‘धेरै शत्रुतापूर्ण’ कदम भएको टिप्पणी गर्दै सी जिनपिङसँग भेट्ने कुनै कारण नभएको बताएका थिए । उनले अमेरिकाले यसका विरुद्ध कडा प्रतिक्रिया दिने चेतावनी पनि दिए ।

चीनले प्रतिबन्धहरू फिर्ता लिएमा अमेरिकाले थप करहरू फिर्ता लिन्छ कि भन्ने प्रश्नमा ट्रम्पले भने, ‘हामीले के हुन्छ भनेर हेर्नुपर्छ, त्यसैले मैले मिति नोभेम्बर १ तोकेको हुँ ।’ उनले अमेरिकाले अब विमानका पुर्जादेखि सफ्टवेयरभन्दा बाहेकका अन्य वस्तुहरूमा पनि निर्यात नियन्त्रण गर्ने विचार गरिरहेको बताए ।

‘हामीसँग विमान र तिनका पार्ट्सहरू छन् । हामी चीनको कदमबाट साँच्चिकै चकित भयौँ । मेरो राष्ट्रपति सीसँग धेरै राम्रो सम्बन्ध छ, तर यो मैले उक्साएको होइन । यो उनीहरूले गरेका कार्यहरूको मात्र प्रतिक्रिया हो । वास्तवमा उनीहरूले हामीलाई मात्र होइन, सम्पूर्ण विश्वलाई लक्षित गरे । यो धेरै नै खराब कदम हो’, ट्रम्पले भने ।

चीनले दुर्लभ पृथ्वी तत्त्वहरू र तिनसँग सम्बन्धित प्रविधिहरूमा प्रतिबन्ध विस्तार गरेपछि ट्रम्पले घोषणा अमेरिकाले सन् २०२५ नोभेम्बर १ देखि चीनबाट आयात हुने सबै सामानमा ‘हाल लागिरहेका कुनै पनि करभन्दा माथि’ १०० प्रतिशत कर लगाउने घोषणा गरे।

त्यसै मितिदेखि सबै ‘महत्त्वपूर्ण सफ्टवेयर’ मा पनि निर्यात नियन्त्रण लागू गरिने उनले बताए । उनले भने- ‘हामीले भर्खरै पत्ता लगाएका छौँ कि चीनले विश्वलाई अत्यन्त शत्रुतापूर्ण पत्र पठाएर अन्तर्राष्ट्रिय व्यापारमा असाधारण आक्रामकता देखाएको छ ।

उनीहरूले सन् २०२५ नोभेम्बर १ देखि आफ्नो उत्पादनका लगभग सबै वस्तुमा ठुलो मात्रामा निर्यात नियन्त्रण लगाउने निर्णय गरेका छन्, जुन सबै देशहरूलाई असर गर्नेछ । यो नैतिक दृष्टिले पनि निन्दनीय कदम हो र अन्तर्राष्ट्रिय व्यापारमा अस्वीकार्य व्यवहार हो ।’

ट्रम्पले भने- ‘चीनले यस्तो कदम चालेको पत्यार गर्न गाह्रो छ, तर उनीहरूले गरेका छन् र अब बाँकी इतिहास हो । यस विषयमा ध्यान दिनुभएकोमा धन्यवाद ।’

यो सम्पूर्ण विवाद चीनले दुर्लभ पृथ्वी तत्त्वहरूको निर्यात नियन्त्रण कडा बनाउँदै आफ्नो नियन्त्रण सूची विस्तार गरेको र सैन्य तथा अर्धचालक उद्योगसँग सम्बन्धित प्रविधि र विदेशी प्रयोगहरूलाई समेत समेट्ने प्रतिबन्ध लगाएको पृष्ठभूमिमा आएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट