चितवन : चितवनको देवघाटमा निर्माण गरिएको विद्युतिय शवदाह गृह अब भरतपुर महानगरपालिकाको स्वामित्वमा आएको छ। सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी शवदाह गृह महानगरपालिकालाई हस्तान्तरण गरेको हो। हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर रेनु दाहालले भरतपुरमा सहरी विकास मन्त्रालयमार्फत विभिन्न विकास निर्माणका कामहरू धेरै भएका उल्लेख गर्दै, देवघाटमा आवश्यक परेको शवदाह गृह आम जनताको लामो समयको सपना भएको बताइन्।

त्यस्तै, भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले विद्युतिय शवदाह गृह वातावरणीय दृष्टिले पनि राम्रो रहेको तर्क राखे। देवघाटमा निर्माण गर्न लागिएको शवदाह गृहको सम्झौता सन् २०७५ माघमा भएको थियो। निर्माण सम्पन्न गर्ने प्रारम्भिक समय २०७७ साउन ३० गते तोकिएको थियो, तर समयमै काम नसकिएपछि म्याद २०८२ साउन ३० गतेसम्म थप गरिएको थियो।

दश करोड ३६ लाख ५७ हजार ८९१ रुपैयाँमा निर्मित शवदाह गृहमा भुई तलामा मलामी प्रतिक्षालय र पहिलो तलामा दुई वटा विद्युतिय शवदाह मेसिन रहेका छन्। सघन सहरी विकास आयोजनाका प्रमुख झपड बहादुर थापाका अनुसार, मेसिनबाट एउटा शव जलाउन करिब एक घण्टा लाग्नेछ। ठेकेदार पक्षले एक वर्षसम्म मर्मत निर्माणको जिम्मेवारी लिनेछ।

यसै अवसरमा आयोजनाले मंगलपुर–फुलबारी सडक, सापकोटा चोक–पटिहानी, विशाल चोक–देविस्थान सडक, बाइपास–गोर्खाली चोक र काडाघा री गरी जम्मा १८.१२ किलोमिटर सडक कालोपत्रे गरी महानगरपालिकालाई हस्तान्तरण गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij