एजेन्सी : यो वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाई दिने निर्णय गरिएको पुरस्कार छनोट समितिले बिहीवार जनाएको छ।क्राज्नाहोर्काइलाई प्रलयकारी भयका बीच पनि कलाको शक्ति पुनः पुष्टि गर्ने उनका ‘प्रभावशाली र दूरदर्शी रचना’का लागि पुरस्कृत गर्ने निर्णय गरिएको पुरस्कार समितिले जनाएको छ।
उनको जन्म सन् १९५४ मा दक्षिणपूर्वी हङ्गेरीको एउटा सानो सहरमा मध्यमवर्गीय परिवारमा भएको थियो। नोबेल पुरस्कार पाउने उहाँ हङ्गेरीका दोस्रा साहित्यकार हुनुहुन्छ। सन् २००२ मा इम्रे केर्टेस पनि उक्त पुरस्कारबाट सम्मानित भएका थिए।
उनका कैयौँ कृति हङ्गेरियाली भाषामा प्रकाशित छन्। उनले विभिन्न चलचित्रका लागि कथा पनि लेखेका छन् र उनका कृतिहरू अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्वीडिश भाषामा पनि छापिएका छन्।
यस वर्षका लागि हालसम्म चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ। अब शान्ति र अर्थशास्त्रतर्फ विजेताको नाम घोषणा हुन बाँकी छ। पुरस्कार आगामी डिसेम्बरमा वितरण हुने छ।
नोबेल पुरस्कारबाट सम्मानित भएपछि लेखकले स्विडेनी प्रसारक स्भेरिजेस रेडियोसँग भने, “म धेरै खुसी र शान्त छु। पुरस्कार पाएको समाचारले मलाई घबराहट महसुस भएको छ।” उनले भने, “नोबेल पुरस्कार विजेताका रूपमा यो मेरो पहिलो दिन हो।”
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij