काठमाडौं : वरिष्ठ प्रहरी अधिकारीहरूले जेनजी आन्दोलनको प्रदर्शनमा सुरक्षा चुनौती बढ्ने भन्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रदर्शन रोक्न आग्रह गरेका छन्।
प्रहरी प्रमुखसहितका अधिकारीहरूले सोमबार साँझ गृहमन्त्रीलाई ब्रिफिङ दिँदै लुटिएका प्रहरी बर्दी र हतियार अझै फिर्ता नभएको जानकारी दिएका छन्। अधिकारीहरूले चेतावनी दिएका छन् कि जेलबाट भागेका पेशेवर अपराधीहरूले ती हतियार प्रयोग गर्न सक्ने खतरा छ।
एक वरिष्ठ अधिकारीले भने, “प्रहरीका बर्दी र हतियार लुटिएका छन्, ती हतियार चलाउन जान्ने अपराधी बाहिर छन्। कसैले प्रदर्शनमा गोली चलायो भने वास्तविक वा नक्कली छुट्याउन सकिँदैन। त्यसैले प्रदर्शन रोकिनुपर्छ।”
गृहमन्त्री अर्यालले भने, आन्दोलनलाई केवल आग्रहले रोक्न नसकिने बताएका छन्। उनले भने, “२३ गतेको आन्दोलन दमन गर्ने अधिकारीहरूविरुद्ध जाहेरी नलिएसम्म उनीहरूको आक्रोश कम हुन गाह्रो छ।”
प्रहरीका अनुसार लुटिएका करिब १२०० हतियारमध्ये ३ सय मात्रै फिर्ता भएका छन्। बाँकी हतियार अझै पत्ता लागेको छैन र ती अपराधी समूहको हातमा पुगेको हुन सक्ने आशंका गरिएको छ। प्रहरीले कानुनी प्रक्रिया अघि बढाउन र गृह मन्त्रालयमार्फत आधिकारिक सूचना जारी गर्न पनि आग्रह गरेका छन्।