चितवन : चाडपर्वको अवसरमा जमरा सेलाउन गएका एक पुरुषको नारायणी नदीमा डुबेर मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–१६ फुर्तिचोकका ५५ वर्षीय गोपाल शर्मा पौडेल आज बिहान करिब ७ बजे नारायणी नदीको भगेरीथान किनारमा जमरा सेलाउने क्रममा नदीले बगाएर बेपत्ता भएका थिए। उनी ना ६१ प ४९३६ नम्बरको स्कुटर चढेर नदी किनार पुगेका थिए।
नदीमा जमरा सेलाउँदा अचानक बगेर हराएका पौडेलको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण, आँप टारी चितवनबाट खटिएको गोताखोर टोली र वडा प्रहरी कार्यालय नारायणगढको संयुक्त टोली परिचालित गरिएको थियो। केही घण्टापछि पौडेलको शव सानो गढी किनारमा फेला परेको प्रहरीले जानकारी दिएको छ। हाल शव परीक्षणका लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। चाडपर्वको समयमा नदी तथा जलाशयमा सतर्कता नअपनाउँदा यस्ता दुःखद घटना दोहोरिने भएकाले सतर्क रहन आग्रह गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij