चितवन : हवाई यात्रुको चाप बढेपछि भरतपुर विमानस्थलबाटै काठमाडौँका लागि बसको व्यवस्था गरिएको छ। शनिबार हवाई सेवा अवरुद्ध भएपछि टिकट लिएका यात्रु र आजका लागि पुनः विमानस्थल पुगेका यात्रुको कारण विमानस्थलमा भिड बढेको थियो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विमानस्थल पुगेर स्थिति निरीक्षण गर्नुभएको थियो। उहाँले यातायात व्यवसायीसँग समन्वय गरी यात्रु लैजान बसको व्यवस्था मिलाउनुभएको छ। अहिले एउटा माइक्रोबसले यात्रु लिएर काठमाडौँको लागि प्रस्थान गरेको छ भने बाँकी यात्रुका लागि थप बस उपलब्ध गराइने व्यवस्था गरिएको छ।

अर्यालले यात्रुलाई नियमानुसारको भाडा लिई सेवा दिन व्यवसायीसँग आग्रह गरिएको जानकारी दिनुभयो। अत्यावश्यक यात्रुका लागि प्रशासनले पत्र जारी गरेर बसको सहज आवतजावत सुनिश्चित गरेको छ।

यसैबीच, नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा छ भने पृथ्वी राजमार्गको चितवन खण्ड पनि खुल्ला छ। धादिङमा खसेको पहिरो पन्छाएर सवारी साधन सञ्चालनको तयारी भइरहेको छ। प्रशासनले शनिबार रोकिएका यात्रुलाई ७५ प्रतिशत छुटमा होटलमा बस्ने सुविधा पनि उपलब्ध गराएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij