काठमाडौँ : देशभर जारी अविरल वर्षाका कारण जनजीवन प्रभावित भइरहेका बेला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रवाहलाई निरन्तर र प्रभावकारी बनाउन सबै सञ्चार सेवाप्रदायक संस्थालाई निर्देशन दिएको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी तीन दिनसम्म देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा जारी रहने सम्भावना रहेकोले मन्त्रालयले नागरिकको जीवनरक्षा र जनधनको क्षति रोक्न सूचना प्रणालीलाई अझ सुदृढ बनाउन आह्वान गरेको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको उपस्थितिमा शनिबार भएको बैठकमा सम्भावित अवरोध रोक्न आवश्यक तयारी गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको थियो। मन्त्री खरेलले नागरिकसम्म सही, छिटो र विश्वसनीय सूचना पुर्याउने कार्य निरन्तरता दिन सबै सञ्चार संस्थाहरू सक्रिय रहनुपर्नेमा जोड दिनुभयो।
विपद्को समयमा आकस्मिक सूचना प्रवाहका लागि मन्त्रालयले सम्बन्धित सेवाप्रदायकसँग सिधा सम्पर्क गर्न निम्न नम्बरहरू उपलब्ध गराएको छ:
नेपाल दूरसञ्चार कम्पनी (NTC): १४९८
एनसेल (Ncell): ९००५
इन्टरनेट सेवा प्रदायक (ISPAN): ९८५१०२६२४१
नेपाल दूरसञ्चार प्राधिकरण (NTA): ०१-५५२२३२२ / ०१-५५२३२०३
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय: ०१-४२११५६३ / ०१-४२१११५१
मन्त्रालयले देशभरका सञ्चारकर्मी र सञ्चार संस्थालाई विपद्को समयमा जनतालाई समयमै आवश्यक सूचना पुर्याउन सक्रिय रहन अनुरोध गरेको छ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij