Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सौराहामा जेनजी आन्दोलनको असर, होटल बुकिङ शून्यतिर

सौराहामा जेनजी आन्दोलनको असर, होटल बुकिङ शून्यतिर

 चितवन : मुलुकको तेस्रो ठूलो पर्यटकीय क्षेत्र चितवन हालैको जेनजी आन्दोलनबाट गम्भीर रूपमा प्रभावित भएको छ। मुख्य आकर्षण मानिने सौराहा, पटिहानी, मेघौली र गोलाघाटलगायत क्षेत्रमा आन्दोलनको प्रत्यक्ष असर देखिएपछि व्यवसायीहरू चिन्तित बनेका छन्।

होटल व्यवसायीका अनुसार सेप्टेम्बर महिनाभरिका सबै बुकिङ रद्द भएका छन् भने आगामी महिनाका लागि भएका अग्रिम बुकिङ पनि धमाधम रद्द भइरहेको छ। जिल्लाकै पहिलो पाँचतारे होटल ‘रोयल टुलिप’का अध्यक्ष रामेश्वर शाहले भव्य उद्घाटनसँगै राम्रो बुकिङ लिएको भए पनि आन्दोलनले प्रत्यक्ष असर पार्न थालेको बताउनुभयो। “हामी भर्खरै लयमा फर्कन थालेका थियौँ, तर आन्दोलनले फेरि ठूलो संकट निम्त्याएको छ,” उहाँले भन्नुभयो।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अन्तर्राष्ट्रिय जगतमा नेपालबारे नकारात्मक सन्देश फैलिएको थियो। यसैका कारण पर्यटकहरूले नेपाल भ्रमणलाई असुरक्षित ठानेर यात्रा स्थगित गरिरहेका छन्।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष ओम पाण्डेका अनुसार यस महिनामा मात्र करिब ६५–७० प्रतिशत होटल कोठा अग्रिम रूपमा बुकिङ भइसकेका थिए। तर अहिले एक–दुई कोठा बाहेक सबै खाली छन्। “ठूला समूह आउने आशा थियो, तर अहिले होटलहरू सुनसान भएका छन्,” उहाँले दुखेसो गर्नुभयो।

यस्तै, सङ्घका निवर्तमान अध्यक्ष दीपक भट्टराईले अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीमार्फत दैनिक सयजना हाराहारीमा भ्रमण रद्द भएको सूचना आइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार सौराहामा अहिले होटल क्षमताको पाँच प्रतिशत पनि पाहुना छैनन्।

सौराहामा मात्रै ठूला–साना गरी करिब १२० होटल सञ्चालनमा छन्। जगतपुर र मेघौलीमा समेत उच्चस्तरीय होटलहरू रहेका छन्। सौराहाको दैनिक ३ हजारभन्दा बढी पाहुना बस्ने क्षमता भए पनि अहिले कोठा खाली छन्। साथै, यहाँका ७० भन्दा बढी रेस्टुराँ र करिब एक सय साना पर्यटन व्यवसायसमेत ठप्पजस्तै बनेका छन्।

‘बल्ल पर्यटकीय सिजन सुरु हुनै लागेको थियो, एकाएक आन्दोलन भयो, त्यो आन्दोलनले चितवनको सौराहामा मात्र होईन् अन्य क्षेत्रमा पनि पाहुनाविहीन बनायो,’ होटल भिष्टा चितवन सौराहाका अध्यक्ष रमेश सिल्लवालले भन्नुभयो, ‘कोरोनाको बेला शुन्यमा झरेको पाहुनाको आगमन यो बेला त्यही अवस्थामा पुर्यायो।’ नयाँ लानी थपेर स्मिीङ पुल बनाईरहेको थिए । अहिले फेरि समस्या थपियो, बुकिङ पनि रद्द भयो । भएका पाहुना पनि एकाएक निस्केर गए। आउने पाहुना जहाँको तही रोकिए। कोरोना भाइरस संक्रमणका बेला पाहुनाविहीन भएर बस्नुपरेको थियो। त्यसपछि अहिले त्यही अवस्था आएको छ,’ उहाँले भन्नुभयो, ‘यो सिजनबाट पर्यटन व्यावसायीले राम्रो आशा गरेका थिए। तर, त्यो अब शुन्यमा झरेको छ। तत्काल पाहुना आउने अवस्था छैन।’ पाहुना नभएपछि सौराहा सुस्ताएको क्षेत्रिय होटल संघ सौराहाका सदस्य तथा होटलपार्क सेन्चुरीका प्रबन्ध निर्देश दिलिप मालीले बताउनुभयो। ‘रमाउने पाहुना र वातावरण नै नभएपनि सौराहा बेलुकी छिटै निदाउन थालेको छ,’ उहाँले भन्नुभयो।

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वन पर्यटक आकर्षणका मुख्य आधार हुन्। दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तु हेर्न वार्षिक करिब तीन लाख पर्यटक चितवन आउने तथ्याङ्क छ। हात्ती चढेर जंगल सफारी गर्ने, राप्तीमा डुङ्गा सयर गर्ने र निकुञ्जभित्र पदयात्रा गर्ने अनुभवका लागि सौराहा विश्वभर चिनिन्छ। तर अहिले याममै होटल खाली भएपछि व्यवसायीहरू निराश भएका छन्।

व्यवसायीहरूले आन्दोलनलाई शान्तिपूर्ण ढंगले टुङ्ग्याएर अन्तर्राष्ट्रिय जगतमा नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश दिनुपर्ने आवश्यकता औंल्याएका छन्। “पर्यटकलाई सुरक्षित वातावरण उपलब्ध गराउन सके पर्यटन फेरि फर्कन सक्छ,” अध्यक्ष पाण्डेले बताउनुभयो। उहाँका अनुसार, सरकार, स्थानीय निकाय, सुरक्षा निकाय र पर्यटन व्यवसायीबीच सहकार्य गरेर तत्काल संकट समाधानका उपाय खोजिनुपर्ने अवस्था आएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट