Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

एयर इन्डिया विमान दुर्घटना : ज्यान गुमाएका यात्रुका परिवारले बोइङ र हनीवेलविरुद्ध अमेरिकामा मुद्दा दायर

एयर इन्डिया विमान दुर्घटना : ज्यान गुमाएका यात्रुका परिवारले बोइङ र हनीवेलविरुद्ध अमेरिकामा मुद्दा दायर

नयाँ दिल्ली :  गत जुनमा भएको एयर इन्डियाको विमान दुर्घटनामा ज्यान गुमाएका चार यात्रुका परिवारले विमान निर्माता बोइङ र विमानका पार्टपुर्जा बनाउने कम्पनी हनीवेलविरुद्ध अमेरिकामा मुद्दा दायर गरेका छन्। उनीहरूले कम्पनीहरूमाथि लापरबाहीको आरोप लगाएका छन्।

मंगलबार दायर गरिएको मुद्दामा, विमानको इन्धन स्विचमा आएको खराबीका कारण दुर्घटना भएको उल्लेख गरिएको छ। मुद्दामा कम्पनीहरूलाई विमानको डिजाइनमा रहेको जोखिमबारे थाहा हुँदाहुँदै पनि ‘केही नगरेको’ भन्दै आरोप लगाइएको छ।

एअर इन्डियाको बोइङ ७८७ फ्लाइट १७१ अहमदाबादबाट लन्डन ग्याटविकका लागि उडेको केही समयपछि दुर्घटनाग्रस्त हुँदा २६० जनाको मृत्यु भएको थियो। प्रारम्भिक अनुसन्धानमा विमानले जमिन छोडेको केही क्षणपछि नै इन्जिनमा जाने इन्धन रोकिएको पाइएपछि इन्धन स्विचहरू अनुसन्धानको केन्द्रबिन्दु बनेका छन्।

यसअघि, अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) ले बोइङका विमानहरूमा जडान गरिएका इन्धन नियन्त्रण स्विचहरू सुरक्षित रहेको बताएको थियो।

अमेरिकी विमान निर्माता बोइङले यस मुद्दामा कुनै टिप्पणी गरेको छैन। यसको सट्टा, उसले दुर्घटनासम्बन्धी भारतको विमान दुर्घटना अनुसन्धान ब्युरो (एएआईबी) को प्रारम्भिक अनुसन्धान प्रतिवेदनलाई औँल्याएको छ।

मुद्दामा आरोप लगाइएअनुसार, दुवै कम्पनीले ७८७ ड्रीमलाइनर र यसका पार्टपुर्जाहरूको विकास र बजारीकरण गर्दा नै दुर्घटनाको जोखिमबारे थाहा पाएका थिए। सन् २०१४ को एक एफएए सल्लाहलाई उद्धृत गरिएको छ, जसमा अपरेटरहरूलाई इन्धन स्विचको लक गर्ने संयन्त्रको निरीक्षण गर्न आग्रह गरिएको थियो ताकि यो संयोगवश नचलोस् र इन्धन आपूर्ति नरोकियोस्। तर यसलाई अनिवार्य गरिएको थिएन। एएआईबीको प्रारम्भिक अनुसन्धान प्रतिवेदनअनुसार, एयर इन्डियाको फ्लाइट १७१ को हकमा स्विच ‘रन’ बाट ‘कट-अफ’ स्थितिमा सारिएको थियो, जसले विमानको थ्रस्ट (गति) लाई रोकिदिएको थियो।

पीडित परिवारले यो डिजाइनमा ‘त्रुटि’ भएको र यसले ‘इन्धन आपूर्ति अनजानेमै रोकिने र विमानलाई आवश्यक पर्ने थ्रस्ट गुमाउने’ अवस्था सिर्जना गरेको बताएका छन्। उनीहरूले भनेका छन्, ‘यस अपरिहार्य विपत्तिलाई रोक्न हनीवेल र बोइङले के गरे? केही पनि गरेनन्।’

मुद्दाअनुसार, कम्पनीहरूले एयरलाइन्सहरूलाई स्विचहरूको निरीक्षण र मर्मत गर्न आवश्यक छ भनी चेतावनी दिन पनि असफल भए भने ग्राहकहरूलाई प्रतिस्थापन पार्टपुर्जा उपलब्ध गराएनन्।

टेक्सासस्थित लानियर ल फर्मद्वारा प्रतिनिधित्व गरिएका परिवारहरूले बोइङ र हनीवेलले स्विचको निरीक्षण गर्न मात्र सिफारिस गर्ने सामान्य सल्लाह दिएर ‘चुपचाप बसिरहेको’ बताएका छन्।

दुर्घटनाको थप विस्तृत प्रतिवेदन सन् २०२६ मा आउने अपेक्षा गरिएको छ। दुर्घटनामा २२९ यात्रु, १२ जना चालक दल र जमिनमा रहेका १९ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट