काठमाडौं : कानून व्यवसायीबाट एक्कासी गृहमन्त्री बन्ने अवसर पाएका ओमप्रकाश अर्याल यतीबेला गृह प्रशासन बुझ्नै भ्याएका छैनन् । आन्दोलनका घाइतेको भेटदेखि क्षतिग्रस्त संरचनाको निरीक्षणमै उनी व्यस्त छन् ।देशको कठिन समयमा गृह मन्त्रालयको कार्यभार सम्हालेका उनका लागि निर्वाचनसम्मको यात्रा त्यती सहज छैन ।सामान्य अवस्थामा भन्दा धेरै चुनौतीपूर्ण कामहरु उनले गर्नुपर्ने छ । गृहप्रशासनको अनुभव नभएकाले पनि उनलाई यसमा कठिन हुनसक्ने जानकारहरु बताउँछन् ।
यस्ता छन् उनका ५ चुनौतीः
१. प्रहरीको मनोबल बढाउने
आन्दोलनकारीको आक्रमणमा परेर नेपाल प्रहरी संगठन यतीबेला कमजोर अवस्थामा छ । एकातर्फ प्रहरीतर्फ मानवीय क्षति भएको छ भने अर्कोतर्फ़ तीन सय भन्दा धेरै कार्यालयहरु क्षतिग्रस्त बनेको छ । अझै ६४ जना प्रहरी त अस्पतालमा छन् ।
यस्तो अवस्थामा प्रहरीको मनोबल बढाउन गृहमन्त्रीको महत्वपूर्ण भूमिका हुन्छ । त्यसका लागि स्रोत साधन दिनेदेखि प्रहरीलाई स्वचालित रुपमा सञ्चालन हुन दिनुपर्ने हुन्छ । चुनावको समयमा धेरै झै झगडा हुनसक्छन् ।
मनोबल गिरेको प्रहरी त्यसरी फिल्डमा खटिएमा चुनावी हिंसामा ठूलो जोखिम हुन्छ । त्यसकारण गृहमन्त्री अर्यालले प्रहरीको मनोबल बढाउने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।
२. जेननी सहिदका परिवारलाई न्याय दिने
अर्याल जेनजीको आन्दोलनकै बलमा गृहमन्त्री पदमा पुगेका हुन् । त्यसकारण जेनजीको एजेन्डा छाड्न उनले मिल्दैन । भदौ २३ गतेको आन्दोलनमा जसरी युवा तथा बिद्यार्थीहरुमाथि गोली प्रहार गरियो त्यसका दोषीमाथि छानविन गरेर कारबाही गर्नैपर्छ । खासगरी यसमा राजनीतिक नेतृत्वमाथि कारबाही नगरेमा फेरि अर्को आन्दोलन नहोला भन्न सकिन्न ।
३. आन्दोलनमा भएको ज्यादतीको निष्पक्ष छानविन गर्ने
आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति भएको छ । छानीछानी अदालतदेखि राष्ट्रपति कार्यालयसम्म जलाइएको छ ।
यस्ता गतिविधिमा संलग्नमाथि कारबाही नभएमा भोलिका दिनमा देशमा कानुनी शासन कायम नहुन सक्छ । आन्दोलनका नाममा जे गरे पनि उन्मुक्ति पाइन्छ भन्ने सन्देष जान्छ ।
अझै नेताहरुको घरमा आक्रमण गर्नेहरुको हकमा पनि अनुसन्धान गरेर दोषीलाई कानुनी दायरामा ल्याउन नसके भोलिका दिनमा प्रतिशोधको राजनीति बढ्न सक्छ ।
साथै, चुनावमा राजनीतिक दलले असहयोग गर्न सक्छन् । नेतामात्र होइन कतिपय व्यवसायीका घर र कार्यालयमा समेत ठूलो क्षति पुर्याइएको छ । त्यसको निष्पक्ष अनुसन्धान गर्नु उनको महत्वपूर्ण जिम्मेवारीमा पर्दछ ।
४. गृह प्रशासनमा सुधारको सुरुवात गर्ने
अहिलेको आन्दोलन भनेको मुलतः भ्रष्टाचारविरुद्ध हो । सरकारी कार्यालयमा घुसबिना काम नहुने विषयमा जनताको आक्रोश छ । सेवा दिनेमध्ये जिल्ला प्रशासन र प्रहरी गृह मातहत छन् ।
त्यसकारण उनले जनताको मागअनुसार गृह प्रशासनमा केही न केही सुधारको सुरुवात गर्नुपर्ने हुनन्छ । जनताले अनुभव गर्ने गरी उनले केही सुधार गर्न सकेनन् भने उनीप्रति पनि आक्रोश बढ्न सक्छ ।
५. निष्पक्ष निर्वाचन गराउने
अहिलेको सरकारको मुख्य जिम्मेवारी निष्पक्ष र भयरहित निर्वाचन हो । त्यसका लागि अहिले बिग्रिएको शान्ति सुरक्षाको अवस्थालाई सामान्य अवस्थामा फर्काउनु छ ।
हजारौं कैदीहरु जेलबाहिर रहेकाले उनीहरुलाई तत्काल पक्राउ गर्नुपर्ने छ । त्यसका लागि स्रोत साधन दिएर प्रहरीलाई सक्रिय बनाउनुपर्ने हुन्छ ।
अबका केही हप्ता गृहमन्त्रीको फोकस यही विषयमा हुनुपर्ने प्रहरी अधिकारी बताउँछन् । अहिले शान्ति सुरक्षाको अवस्थामा नियन्त्रणमा लिइएन भने चुनाव गराउन समेत कठिन हुनेछ ।
साथै निर्वाचनका लागि उनले सबै दलसँग समन्वय गरी विश्वासमा लिनुपर्ने हुन्छ । उनीसँग राजनीतिक अनुभव छैन । चुनावका लागि सबैसँग समन्वय गरेर अघि बढुनपर्ने गृहका प्रशासकहरु बताउँछन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij