Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सभामुख भुवन कुमार पाठकले औपचारिक रूपमा पठाए राजीनामा पत्र

सभामुख भुवन कुमार पाठकले औपचारिक रूपमा पठाए राजीनामा पत्र

हेटाैंडा : सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका बागमती प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले ह्वाट्स एप मार्फत् आधिकारिक पत्र पठाउनुभएको छ । आफ्नो पदबाट राजीनामा दिँदै उपसभामुख अप्सरा चापागाईलाई ह्वाट्स एप मार्फत् पत्र पठाउनुभएको हो ।

सभामुख पाठकले नेपालको संविधान र प्रदेश सभा नियमावली, २०७४ बमोजिम उपसभामुख समक्ष आज बुधबार आफ्नो राजीनामा पत्र पठाउनुभएको हो । गत भदौ २३ गते भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनमा अस्वाभाविक बल प्रयोगबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै भदौ २४ गते नै सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्नुभएको थियो । राजीनामा घोषणा गरेपनि उहाँले औपचारिक पत्र भने पठाउनुभएको थिएन ।

पाठकले तत्कालिन समयमा प्राविधिक कारणले कानूनी प्रक्रिया पूरा गर्न अनुकूल नभएकाले पत्र नबुझाएको बताउनुभयो । सबै प्रक्रिया पुरा गरेर आज औपचारिक रुपमा राजीनामा पत्र बुझाएको उहाँले बताउनुभयो । राजीनामा पत्रमा उनले उक्त घटनाले आफूलाई अत्यन्त भावविह्वल बनाएको र राष्ट्र शोकमा डुबेको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावनाविपरीत पदमा बसिरहनु उचित नलागेको उल्लेख गर्नुभएको छ ।

उहाँले राजीनामा पत्रको बोधार्थ प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेशसभा सचिवालयलाई पनि दिनुभएको छ । पाठक राप्रपाको समानुपातिक कोटाबाट बागमती प्रदेशसभा सदस्य भएर २०७९ पुस २८ मा एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीको सहयोगमा ६४ मत सहित सभामुख निर्वाचित हुनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij