Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सिंहदरबार जलेपनि सरकारी कर्मचारीले दशैं अगाडि नै तलव–भत्ता पाउने

सिंहदरबार जलेपनि सरकारी कर्मचारीले दशैं अगाडि नै तलव–भत्ता पाउने

काठमाडौं : नेपाल सरकारको भुक्तानी प्रणाली सुचारु भएसँगै सरकारी कर्मचारीहरुले दशै अगावै सरकारको ढुकुटीबाट तलब–भत्ता पाउने भएका छन् ।अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव टंकप्रसाद पाण्डेयका अनुसार सरकारले आजैदेखि भुक्तानी दिने काम थालिसकेको हुँदा कर्मचारीहरुले पनि समयमै तलव पाउने भएका हुन् ।

जेनजीको आन्दोलनपछि राजस्व संकलनको काम समेत सुचारु भएको छ । धेरैजसो भन्सार विन्दु सञ्चालनमा आएका छन् । पूर्णक्षति भएका केही आन्तरिक राजस्व कार्यालयबाहेक अन्य कार्यालय समेत सञ्चालनमा आइसकेको प्रवक्ता पाण्डेयले जानकारी दिए ।

अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र ५ भन्सार कार्यालयमा जेनजी आन्दोलनकारीले तोडफोड गरेका थिए । चार आन्तरिक राजस्व कार्यालय र चार भन्सार कार्यालयमा भने आंशिक क्षति भएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार शनिबारसम्म सरकारले १ खर्ब ४४ अर्ब ५८ करोड राजस्व उठाएको छ । अन्य आम्दानीसहित शनिबारसम्म सरकारको ढुकुटीमा १ खर्ब ४६ अर्ब ९२ करोड संकलन भएको छ ।

यसै अवधिसम्म सरकारको खर्च १ खर्ब २० अर्ब ७८ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्षको पहिलो दुई महिना सकिँदासम्म सरकारको ढुकुटी बचतमै देखिन्छ । तर, दशैं भत्तासहित अनिवार्य दायित्वको सबैभन्दा ठूलो हिस्सा भने भदौ मसान्तसम्म खर्च हुनेछ ।

भदौ २३ र २४ को आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा ठूलो नोक्सानी भएकाले सरकारलाई यो वर्ष लक्ष्य अनुरुप राजश्व उठाउन अप्ठेरो हुने देखिन्छ । आन्दोलनको क्षतिका कारण राजस्व संकलन र आर्थिक वृद्धि दुवैमा नकारात्मक असर पर्ने देखिन्छ ।

अर्कोतिर ६ महिनाभित्र प्रतिनिधिसभाको चुनाव गराउनुपर्ने दायित्व पनि सरकारसँग छ । चुनावका लागि पनि अरबौं खर्च हुने भएकाले देशको आर्थिक अवस्थामा नकारात्मक असर गर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij