Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

जेनजी आन्दोलनपछि मेयर लामाको पहिलो विज्ञप्ति : हेटौँडाको माटोले जन्माएको चेली हुँ

जेनजी आन्दोलनपछि मेयर लामाको पहिलो विज्ञप्ति : हेटौँडाको माटोले जन्माएको चेली हुँ

हेटौँडा : जेनजी आन्दोलन पछि हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले पहिलो पटक आइतबार एक विज्ञप्ति जारी गरेकी छिन् । विज्ञप्ति जारी गर्दै मेयर लामाले आफू हेटौँडाको माटोले जन्माएको चेली भएको दाबी गरेकी छिन् ।

आफू अभाव, अन्याय र विभेदका अनेक रूपहरू भोगेको आएको उनको भनाई छ । उनले जेन जी आन्दोलनका क्रममा गुनासो लिएर आएका विद्यार्थीहरूसँग माफी समेत मागेकी छिन् । मेयर लामाले विद्यार्थीहरूको भावनामा चोट पुगेकोमा दुःख व्यक्त गर्दै देशभरका विद्यार्थीहरू आफ्नो उच्च शिक्षाको भविष्यप्रति चिन्तित भइरहेको अवस्थामा हेटौँडामा रहेका क्याम्पसहरूमा छात्रवृत्तिको माग राख्नु स्वाभाविक भएको स्वीकार गरेकी छिन् ।

मेयर लामाले उपमहानगरपालिका बाहिरका विद्यार्थीलाई छात्रवृत्ति दिन नखोजेको भन्ने हल्ला गलत भएको स्पष्ट पारेकी छिन् । उनले हेटौँडामा रहेका विद्यालय तथा क्याम्पसहरूमा अध्ययन गर्ने सबै विद्यार्थीलाई नियम कानुनले मिल्ने छात्रवृत्ति उपलब्ध गराउँदै आएको बताइन् ।

‘मैले व्यक्तिगत रूपमा पनि पढ्न चाहने हरेक तहका विद्यार्थीहरूलाई सहयोग गर्दै आएकी छु । पद एउटा संयोग मात्र हो । म यही हेटौँडाको माटोले जन्माएकी चेली हुँ’ उनले भनेकी छिन् ।

उनले हेटौँडावासीलाई उच्च सन्तुष्टि दिन नसके पनि मन दुखाउने काम नगरेको जिकिर गरेकी छिन् । अभिभावकको गुनासो सुन्न र विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्न आफू सधैँ तयार रहेको उनले बताइन् । उनले नियम कानुनको प्रसङ्ग आउँदा आफ्ना कुराहरूलाई गलत ढङ्गबाट नबुझिदिन पनि उनले विद्यार्थीहरूलाई अनुरोध समेत गरेकी छिन् ।

1 (1)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij