Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नेताहरू नसुध्रे योभन्दा ठूलो जनविद्रोह हुने चेतावनी

नेताहरू नसुध्रे योभन्दा ठूलो जनविद्रोह हुने चेतावनी

रौतहट : रौतहट क्षेत्र नं. ३ मा नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले संयुक्त क्षेत्रीय समीक्षा बैठक गरी हालैको जेनजी आन्दोलन र त्यसले उत्पन्न गरेको राजनीतिक संकटबारे गम्भीर छलफल गरेका छन्।

कटहरिया बजारमा सम्पन्न बैठकमा दुवै दलका नेताहरूले आन्दोलनका शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै भ्रष्टाचार, परिवारवाद र भागबण्डाको राजनीति नै देशको वर्तमान दुर्दशाको मुख्य कारण रहेको निष्कर्ष निकालेका हुन्।

बैठकमा सहभागी वक्ताहरूले आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी, नगरपालिकामा तोडफोड, कैदी भाग्ने घटना र सुरक्षाकर्मीको बर्बरता जस्ता आपराधिक गतिविधिहरूको उच्चस्तरीय छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे। उनीहरूले देशका ठूला राजनीतिक दलका नेताहरूले आफ्ना गल्तीहरूबाट पाठ नसिके जेनजी आन्दोलनभन्दा ठूलो जनविद्रोह हुने चेतावनी दिए।

प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी पुस्ताको चाहनाअनुसार बनेको सरकारको प्रमुख प्रतिनिधि भन्दै सबै दलले उनको नेतृत्वलाई समर्थन गर्नुपर्ने धारणा पनि बैठकमा राखिएको थियो। सहभागीहरूले युवाहरूले उठाएका जायज मागहरूप्रति सबै दलले ऐक्यबद्धता देखाउनुपर्नेमा जोड दिए।

यस संयुक्त बैठकलाई परम्परागत रूपमा एक-अर्काका प्रतिस्पर्धी रहेका कांग्रेस र एमालेबीचको असामान्य सहकार्यका रूपमा हेरिएको छ। बैठकले जेनजी आन्दोलनलाई केवल असन्तुष्ट युवाहरूको विद्रोह मात्र नभई नेपाली राजनीतिमा सुधारका लागि 'चेतावनी' को रूपमा लिएको स्पष्ट सन्देश दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij