विराटनगर : नेपालको राजनीतिक इतिहासमा विराटनगरले सधैँ महत्त्वपूर्ण भूमिका खेलेको छ। देशले आज पाएको नयाँ र पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीसँगै प्रधानमन्त्री बन्नेको सङ्ख्या ६ पुगेको छ ।
विराटनगर जन्मथलो हुँदै प्रधानमन्त्री बन्नेहरूमा नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको नाम अगाडि आउँछ । बीपीले २०१६ साल जेठ १३ गतेदेखि २०१७ साल पुस १ गतेसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
कांग्रेसका प्रभावशाली नेता मातृकाप्रसाद कोइरालाले दुई कार्यकाल प्रधानमन्त्रीको नेतृत्व गरेका थिए। उनी पहिलो पटक २००८ साल मङ्सिर १ गतेदेखि २००९ साल साउन ३० गतेसम्म र दोस्रो पटक २०१० साल असार १ गतेदेखि २०११ साल माघ २६ गतेसम्म प्रधानमन्त्री बनेका थिए। उनी बीपीका भाइ हुन् ।
बहुदलीय लोकतन्त्र पुनर्स्थापनापछिका महत्त्वपूर्ण नेता गिरिजाप्रसाद कोइरालाले चार पटक प्रधानमन्त्रीको पद सम्हाले। उनका कार्यकालहरू जेठ १२, २०४८ देखि मङ्सिर १४, २०५१, चैत २६, २०५४ देखि जेठ १७, २०५६ साल चैत १०, २०५६ देखि साउन ११, २०५८ र वैशाख १२, २०६३ देखि भदौ ५, २०६५ सम्म रहेका थिए। उनी बीपीकै कान्छो भाइ हुन् ।
नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको पनि जन्मथलो विराटनगर नै हो । उनले २०५१ साल मङ्सिर १४ गतेदेखि २०५२ साल भदौ २६ गतेसम्म प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए।
पञ्चायतकालीन प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालले पनि दुई पटक देशको नेतृत्व गरेका थिए। उनी पनि विराटनगरकै हुन् । उनको पहिलो कार्यकाल २०३० सालदेखि २०३२ सालसम्म र दोस्रो कार्यकाल २०४२ साल चैत १९ गतेदेखि २०४३ साल जेठ १ गतेसम्म रहेको थियो।पटक पटक प्रधानमन्त्री पाएको विराटनगर अहिले भने पछि परेको छ।पुन : विराटनगरकै व्यक्ति सुशीला कार्की जेनजेड विद्रोहबाट प्रधानमन्त्री बन्न सफल भएकी छिन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij