काडमाडौँ : जेनजी प्रदर्शनपछि काठमाडौँ उपत्यकाका अधिकांश प्रहरी कार्यालयहरू विस्थापित भए । काठमाडौँमा डीएसपी इन्चार्ज हुने १४ वटा वृत्त मध्ये प्रहरी वृत्त मालिगाउँ भन्दा बाहेक अन्य वृत्तमा प्रदर्शनमा उत्रिएका उच्छृङ्खल समूहले आगजनी गरेका छन् ।
इन्स्पेक्टरले नेतृत्व गर्ने प्रहरी प्रभागहरु पनि तोडफोड र आगजनी भएको छ । ललितपुरका दुईवटा र भक्तपुरका दुईवटा प्रहरी वृत्तमा पनि प्रदर्शनकारीले आगजनी गरे । प्रहरी नभएपछि चोरी र लुटपाटका सहितका सुरक्षा चुनौती बढेको छ ।
झैझगडा र लुटपाट हुँदा प्रहरी घटनास्थलमा नपुग्ने अवस्था भएपछि स्थानीयले आगजनी गरिएका प्रहरी कार्यालय सफाइ गरेर प्रहरीलाई स्वागत गर्न थालेका छन् ।
जेनजी प्रदर्शनको क्रममा भैँसेपाटी स्थित प्रहरी प्रभागमा आगजनीपछि विस्थापित भएका प्रहरीलाई स्थानीयले स्वागत गरेका छन् । बिहीबार मध्यान्ह प्रहरी कार्यालयमा सरसफाइ गरेर स्थानीयले त्यहाँ कार्यरत इन्स्पेक्टर शशि शर्माको टोलीलाई स्वागत गरेका हुन् ।
स्थानीयसँगको सहकार्यमा प्रहरी कर्मचारी आगजनी भएकै भवनमा बस्न थालेका छन् । ललितपुरका ११ वटा प्रहरी कार्यालयहरू पुनर्स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ ।
लुटपाट र चोरी रोक्न युवाहरूले प्रतिकार समूह तयार गरेका छन् । ललितपुरमा युवाहरूको टिमले फोन नम्बर सहित राखेर सामाजिक सञ्जाल फेसबुक ग्रुप ‘मेन्स रुम रिलोडेड’ मार्फत फोन नम्बर पनि सार्वजनिक गरेका छन् । तत्काल सुरक्षाकर्मी नपुग्ने ठाउँमा अराजक गतिविधि भए आफूहरू सहयोग गर्न आउने युवाहरूले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij