काठमाडौं : बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोबरमा हुने भनिएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ। संघले असामान्य राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको जनाएको छ।
भदौ २३ र २४ गते भएको ‘जेनजी’ पुस्ताको प्रदर्शन र त्यसपछिका घटनापछि मुलुक अस्थिर बनेको भन्दै संघले महाधिवेशन आगामी ६ महिनाभित्र गर्ने गरी स्थगित गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको हो। संघले नयाँ मितिमा हुने महाधिवेशनलाई ‘बृहत् एकताको अन्तर्राष्ट्रिय सम्मेलन’का रूपमा आयोजना गर्ने उल्लेख गरेको छ।
यस्तै एनआरएनएले मुलुक सरकारविहीन भएको अवस्थामा स्थायित्व कायम गर्न सबै निकायलाई सक्रिय भूमिका खेल्न आग्रह गरेको छ। साथै, युवापुस्ताका माग सम्बोधन गर्न सार्थक र परिणाममुखी संवादमार्फत निकास निकाल्न सरकारलाई आग्रह गरिएको छ।
संघका अध्यक्ष डा. बद्री केसीले जारी गरेको उक्त विज्ञप्तिमा संकटको घडीमा विश्वभर रहेका सबै गैरआवासीय नेपालीलाई विगतका तिक्तता र मतभेदलाई छोडेर सहकार्य र एकताको भावना सहित मातृभूमिप्रतिको उत्तरदायित्व निर्वाह गर्न आह्वान गरिएको छ । यस्तै विज्ञप्तिमा जेनजी आन्दोलनका क्रममा संघको बालुवाटारस्थित भवनमा क्षति पुगेको समेत उल्लेख छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij