काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानमा टेकेर अगाडि बढ्नु पर्ने बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै महामन्त्री थापाले संविधान बाहिर गएर अगाडि बढेमा स्थिति झन् भयावह हुने बताएका छन् । ‘हामीले संविधानको निरन्तरताका बारेमा ख्याल गर्नुपर्छ । अब गर्ने काम संविधानमा टेकेर गर्नुपर्छ,’ महामन्त्री थापाले भने, ‘त्यो भन्दा बाहिर गयौँ भने फेरि भयावह हुन सक्छ । यसबारे ध्यान दिन आवश्यक छ ।’
आन्दोलनका क्रममा भएको क्षति अहिलेसम्म भएका सबै आन्दोलनको क्षतिभन्दा बढी भन्दै यो कसका कारण भएको हो, त्यसको छानबिन गरेर कारबाही गर्नुपर्ने बताए । ‘मास लेबलको आन्दोलन हुँदा यो लेभलको डिस्ट्रक्सन (ध्वस्तता) भएको छैन । यो कसका कारण भएको हो ? जेनजीको आन्दोलनमा को घुसेर गर्यो ? एक-एक छानबिन गरेर कारबाही गर्नुपर्छ,’ थापाले भिडियोमा भनेका छन् ।
आफू भ्रष्टाचार अन्त्य गरी सुशासन ल्याउन जेनजीले गरेको आन्दोलनमा १९ जनाको मृत्यु हुनेगरी भएको घटनामा माफी माग्ने थापाले बताए । सामाजिक सञ्जाल बन्द गर्ने निर्णय सरकारले गर्दा त्यो निर्णय नगर्न सबैलाई पटक–पटक भन्दा पनि आफूले नसकेको उनको भनाइ छ ।
आफ्नो निवास जलेको बताउँदै निवास जलाउन हुल आउँदा आफू घरमै रहेको थापाले बताएका छन् । घर जलाउन आउने केही नयाँ पार्टीका मान्छे रहेको र तिनीहरूलाई आफूले राम्रोसँग चिनेको थापाले बताए ।
‘मेरो घर जलाउन आउने नयाँ पार्टीका मान्छे थिए । अगाडि केही मास्क लगाएका मान्छे थिए । तिनीहरूलाई म राम्रोसँग चिन्छु,’ थापाले भिडियोमा भनेका छन् । उनले असल जेनजीको सार्वजनिक सम्पत्ति र निजी सम्पत्ति ध्वस्त पार्ने योजना नभएको बताउँदै त्यो कसैको घुसपैठ र उक्साहटमा भएको आफूले बुझेको बताएका छन् ।
जेनजीले उठाइरहेका मुद्दा आफूले पार्टी र संसद्मा उठाइरहेको भन्दै तर त्यसलाई निष्कर्ष दिन नसकेको स्वीकारे । अब आफू सुधार्न र सच्चिन प्रयास गर्ने उनको भनाइ छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij