काठमाडौँ : आम जनता पार्टीका अध्यक्ष प्रभु साहले 'जेनजी' पुस्ताको नेतृत्वमा भएको जनआन्दोलनलाई केवल नेतृत्व परिवर्तनमा सीमित गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्। उनले फेसबुकमार्फत एक पोस्ट गर्दै आन्दोलनको मूल उद्देश्य समग्र व्यवस्थामा परिवर्तन, भ्रष्टाचारको अन्त्य र देशको अवस्थामा सुधार ल्याउनु रहेको बताएका छन्।
साहले अहिलेको दुरवस्थाको मुख्य कारण गलत प्रणाली, संरचना र नेतृत्व भएको जिकिर गरेका छन्। उनका अनुसार भ्रष्टाचार केन्द्रीय सरकारमा मात्र नभई प्रदेश र स्थानीय गरी ७६० वटै सरकारमा व्याप्त छ। उनले युवाहरूलाई ‘ललिपप’ दिएर झुक्याउने प्रयास भइरहेको भन्दै त्यसको कडा शब्दमा विरोध गरेका छन्।
अध्यक्ष साहले 'जेनजी' पुस्ताका युवाहरूलाई समस्याको गहिराइमा पुगेर समाधान खोज्न आग्रह गरेका छन्। उनको भनाइमा समस्याको समाधान केवल नेतृत्वमा मात्र नभई सम्पूर्ण व्यवस्थामा खोज्नुपर्छ, अन्यथा गरिएको 'जनक्रान्ति' को औचित्य पुष्टि गर्न गाह्रो हुनेछ।
वर्तमान सङ्कटको निकासका लागि उनले लुटेरा र भगौडाहरूको दलाल दलतन्त्रको अन्त्य, जनपक्षीय अन्तरिम सरकार र जननिर्वाचित संस्थाको सर्वोच्चतासहितको नयाँ संविधान आजको आवश्यकता रहेको बताएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij