Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

जेन-जीलाई ओलीको सन्देश-तिमीहरूको निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भयो

जेन-जीलाई ओलीको सन्देश-तिमीहरूको निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भयो

काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनमा संलग्न युवापुस्तालाई शिवपुरीबाट सन्देश पठाएका छन् । शिवपुरीस्थित नेपाली सेनाको सुरक्षा घेराभित्र बसेर उनले ‘प्रिय जेन-जी बाबुनानीहरू’ शीर्षकमा सम्बोधन गर्दै आफ्नो व्यक्तिगत पीडा, संघर्ष र व्यवस्थाबारेको फेहरिस्त लेखेका छन्‌ । ओलीले आन्दोलनका क्रममा प्रहरीको गोलीबाट ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आफूले पनि जीवनमा सन्तान गुमाउने पीडा भोगेको उल्लेख गरेका छन्‌ ।

‘व्यवस्था परिवर्तनको लडाइँमा सत्ताले दिएको यातनाका कारण मेरा आफ्नै सन्तान भएनन्, तर ‘बा’ बन्ने रहर कहिल्यै मरेन’, उनले लेखेका छन् । २०५१ सालमा गृहमन्त्री हुँदा आफ्नो कार्यकालमा राज्यतर्फबाट एउटा पनि गोली नचलेको स्मरण गराउँदै उनले आफू सधैं शान्तिको पक्षमा उभिएको दाबी गरे । तर, हालको आन्दोलनलाई तोडमोड गरेर विध्वंसात्मक गतिविधि गराउने गहिरो षड्यन्त्र भइरहेको आरोप पनि उनले लगाए ।

ओलीले भने, ‘देशका महत्त्वपूर्ण कार्यालयहरूमा आगजनी, कारागार तोडफोड यत्तिकै भएका होइनन्। तिमीहरूको निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भइरहेको छ ।’ उनले आफूलाई ‘जिद्दी स्वभावको’ व्यक्ति बताउँदै लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालको हो भन्ने अडानदेखि श्रीरामको जन्मभूमि नेपालमै भएको दाबीसम्मका विषयमा आफ्नो अडान सम्झाए । ‘यी जिद्दीमा म नहटेको भए अवसर धेरै पाउने थिएँ। तर मैले सम्पत्ति राज्यका नाममा दिएको छु, पद प्रतिष्ठा कहिल्यै मेरो लागि मुख्य थिएन’, उनले भनेका छन्।

ओलीले आफ्नो जीवनको मूल उद्देश्य लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्नु रहेको पनि दाबी गरेका छन्‌ । ‘यो व्यवस्था – जसले तिमीहरूलाई बोल्ने, हिँड्ने, प्रश्न गर्ने अधिकार दिएको छ, यसलाई बचाउनु नै मेरो जीवनको ध्येय हो’, ओलीको दाबी छ । सोमबार सुरु भएको जेन-जी प्रदर्शनमा ओली नेतृत्वको सरकारले निर्मम दमन गर्दा र त्यसपछिको उग्र आन्दोलनमा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij