काठमाडौँ : नेपाल ट्रक यातायात व्यवसायी महासंघले आफ्नो अधिवेशन तथा साधारणसभा मङ्सिर महिनाको अन्तिमसम्म गर्ने निर्णय गरेको छ। शनिबार बसेको महासङ्घको केन्द्रीय कार्यसमितिको बैठकले यसबारे औपचारिक निर्णय गरेको हो ।
बैठकले स्वदेशी तथा विदेशी ट्रकहरूले कानुनी सीमा नाघेर अत्यधिक भारवहन गरिरहेको र यसले सडक तथा पुल संरचनामा क्षति पुर्याउनुका साथै दुर्घटनाको जोखिम बढाइरहेको निष्कर्षसमेत निकालेको छ।
महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले तौलपुलमार्फत नियमित जाँच भइरहे पनि अधिकतम १५०० रुपैयाँ जरिवाना तिरेर नियोजित रूपमा ट्रकहरू बारम्बार ओभरलोड गर्ने प्रवृत्ति बढेको भन्दै यसलाई रोक्न विभिन्न निकायमा आउँदो दिनमा थप लबिङ गर्ने जानकारी दिए ।
उनले मापदण्डभन्दा बढी सामान बोकेका सवारी साधनलाई निर्देशिका २०७४ अनुसार तुरुन्तै अनलोड गराई सोही ट्रकलाई यातायात कार्यालयमा चलान गर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
यसका लागि महासंघले गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र नेपाल प्रहरीलाई पत्राचार गर्दै तत्काल प्रभावकारी कदम चाल्न माग गरेको जानकारी पनि बैठकमा दिइएको थियो।
महासंघले प्रस्तुत गरेको प्रस्तावअनुसार अत्यधिक भारवहन गर्ने ट्रकबाट सामान अनिवार्य रूपमा अनलोड गराई ट्रकलाई कारबाहीका लागि चलान गर्ने व्यवस्था लागू गरिएमा यस्ता अनियमितता नियन्त्रणमा आउने विश्वास लिइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij