Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

नाइजेरियाको बोर्नो राज्यमा आतङ्ककारी आक्रमण, कम्तीमा ५५ जनाको मृत्यु

नाइजेरियाको बोर्नो राज्यमा आतङ्ककारी आक्रमण, कम्तीमा ५५ जनाको मृत्यु

बोर्नो : नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा भएको भीषण आक्रमणमा दर्जनौँ मानिसको ज्यान गएको छ। विस्थापित भएकाहरू लामो समयपछि फर्किएको दारुल जामा गाउँमा शुक्रबार राति आक्रमण हुँदा कम्तीमा ५५ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

स्थानीयहरूका अनुसार बोको हरामका लडाकुहरू मोटरसाइकलमा गाउँ प्रवेश गरी अन्धाधुन्ध गोली चलाएका र घरमा आगजनी गरेका थिए। सरकारी समर्थित मिलिसियाका कमाण्डर बाबागाना इब्राहिमले एएफपीलाई दिएको जानकारीअनुसार मारिनेहरूमा छ जना सैनिकसमेत छन्।

यता, गाउँका प्रमुखले रोयटर्ससँग कुरा गर्दै शनिबार बिहानसम्म ७० शव फेला परेको र अझै पनि धेरै व्यक्ति जंगलतर्फ बेपत्ता रहेको बताए। उनका अनुसार लडाकुहरूले घरघरमै पुगेर पुरुषलाई हत्या गरेका र महिलालाई छोडेका थिए। आक्रमणमा २० भन्दा बढी घर र १० बस नष्ट भएका छन्।

यस क्षेत्रमा बोको हरामका कमाण्डर अली न्गुल्डेको नियन्त्रण रहेको मानिन्छ, जसले यस आक्रमणको नेतृत्व गरेको सुरक्षा निकायलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। स्थानीय बासिन्दा बाबागाना मलाले भने सेना तीन दिनअघि नै बोको हरामको गतिविधिबारे सचेत भए पनि थप बल नपठाइएको र आक्रमणपछि सैनिकहरूसहित आफूहरू बामा सहरतर्फ भाग्नुपरेको बताए।आक्रमणमा मारिएका धेरै जना यसअघि बामा नगरको विस्थापित शिविरमा बसिरहेका थिए। तर सरकारको निर्णयअनुसार शिविर बन्द गरी तिनीहरूलाई गाउँ फर्काइएको थियो।

बोको हरामले सन् २००९ देखि खलीफात स्थापना गर्ने उद्देश्यसहित हिंसात्मक विद्रोह सुरु गरेपछि हालसम्म झन्डै ४० हजार मानिस मारिएका छन् भने २० लाखभन्दा बढी विस्थापित भएका छन्। सन् २०१६ मा यस समूहबाट अलग भएको इस्लामिक स्टेट इन वेस्ट अफ्रिका प्रोभिन्स हाल बढी सक्रिय बनेको छ।गुड गभर्नेन्स अफ्रिकाले जारी गरेको तथ्याङ्कअनुसार सन् २०२५ को पहिलो छ महिनामा मात्र करिब ३०० आक्रमण भएका छन् जसमा ५०० भन्दा बढी नागरिक मारिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij